Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका–उत्तर कोरिया वार्ता प्रयास

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास


सियोल ।
उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्ने गरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा छन् । खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् ।

गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किम जङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए । अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण संकट व्यहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोनाभाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ संकटमा परेको छ ।

अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरुले ‘नोट’ गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे ।

दक्षिण कोरियाली र जापानी आणविक निःशस्त्रसम्बन्धी कूटनीतिज्ञसँगको भेटवार्तापछि किमले भने, ‘हामीहरुले वार्ताका लागि कुनै पूर्वशर्त राखेका छैनौं । हामीहरु कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौँ ।’ दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ट अधिकारीहरुले सामूहिक रुपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भंग भएयता ठोस वार्ता भएका छैनन् । उक्त वार्ताहरुमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरु फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो ।

दक्षिण कोरियाले अन्तर–कोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कूटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्वराष्ट्रपति ट्रम्पको झैँ सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ । (रासस–एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया