Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारके विन्डोज ११ ले स्काइपलाई समाप्त पार्ला ?

के विन्डोज ११ ले स्काइपलाई समाप्त पार्ला ?


लन्डन ।
प्रविधि कम्पनी माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ ल्याउने आधिकारिक रुपमै बताइसकेको छ । साथै उसले अहिलेको भर्सन आगामी केही वर्षमा प्रतिस्थापन गर्ने बताएको छ ।

सबै नयाँ फिचरहरुकै बीच दुईवटा हेर्दा सानो तर सम्बन्धित कुरा बाहिरिएको छ । पहिलो, माइक्रोसफ्ट टिम्स, एउटा भिडियो कलिङ एप्लिकेसन जुन सन् २०२० मा महामारीका बेला अत्यन्तै फस्टायो । यही एप अब विन्डोज ११ मा डिफल्टका रुपमा समावेश हुनेछ । र दोस्रो, यसमा धेरै वर्षमा पहिलोपटक स्काइप रहनेछैन । यसले के संकेत गर्छ भने टिम्स लोकप्रिय कान्छो नयाँ फिचर हुनेछ भने धेरै विज्ञहरु कुनै बेला कलिङ एपको राजा मानिने स्काइपको अन्त्यको सुरु भएको मानिरहेका छन् ।

‘के देखिन्छ भने माइक्रोसफ्टले स्काइपलाई मार्न खोज्दै छ’, आइरिस एन्ड सन्डे इन्डिपेन्डेन्ट प्रविधि सम्पादक आड्रियन वेक्लरले भने ।

Open Photo

‘अलविदा स्काइप !’, फ्युचर पब्लिसिङका कन्टेन्ट डिरेक्टर जेरेमी कप्लान थप्छन् । ‘रेस्ट इन पिस स्काइप !’, द भर्जका टोम वारेनले तुरुन्तै प्रतिक्रिया दिए ।
अझै वास्तविकता त के हो भने स्काइपले लामो समययता सान्दर्भिकता गुमाउँदै गएको छ ।

‘भविष्य’  १० वर्षअघि माइक्रोसफ्टले साढे आठ अर्ब अमेरिकी डलरमा स्काइप किनेको थियो । त्यो समयमा यो माइक्रोसफ्टको तत्कालीन समयको ठूलो एक्विजिसन (प्राप्ति) थियो । त्यतिबेला कम्पनीले स्काइपमा धेरै पैसा बगाएको भनेर प्रश्नहरु समेत गरिएका थिए । तर माइक्रोसफ्ट त्यस्तो एउटा एप खरिद गरिरहेको थियो जुन एक अर्ब पटक डाउनलोड गरिएको थियो र त्यसका दशौँ लाख प्रयोगकर्ता थिए ।

‘सँगसँगै हामी तत्काल सञ्चारको भविष्य रचना गर्नेछौँ’, माइक्रोसफ्टका प्रमुख स्टिभ बाल्मरले अनुमान गरेका थिए । र, यसले काम पनि ग¥यो – उक्त एप हरेक नयाँ कम्प्युटरमा जोडियो र यसका प्रयोगकर्ताको संख्या पनि उत्तिकै बलियो थियो ।

तर दशकको मध्यदेखि भने इन्टरनेट फोरमहरुमा स्काइप किन यति खराब भन्ने टिप्पणीयुक्त पोस्टहरु भरिनथाले । अपडेटलाई लिएर गुनासा पोखिनथाले । धेरैले यसको प्रस्तुति राम्रो नभएको औँल्याउनथाले र डिजाइनमा पनि प्रश्न गर्नथाले । त्यही बेला मोबाइल म्यासेजिङ एपहरु फेसबुक मेसेन्जर, ह्वाट्सएपहरुको लोकप्रियता चुलिँदै थियो । यी एपले पनि भिडियो कलको सुविधा ल्याउनथाले जुन स्काइपको मुख्य आकर्षण थियो ।

स्काइपको पहिलो भर्सन सन् २००३ मा सार्वजनिक भएको थियो । बारम्बार अपडेट हुनुका बाबजुद यसले आफ्नो आयु देखाउन सुरु गरेको थियो । यता माइक्रोसफ्ट आफ्नो बिजनेस च्याट एप टिम्स ल्याउने तरखर गर्दै थियो । सन् २०१७ मा टिम्स औपचारिक रुपमा आयो ।

‘टिम्सलाई आफ्नो रणनैतिक आवाज र नयाँ युगको भिडियो प्रविधिका रुपमा ग्रहण गर्दै माइक्रोसफ्ट धेरै वर्षयता स्काइपविना नै अघि बढिरहेको छ’, सीसीएस इन्साइटकी विश्लेषक एन्जेला आशेनडेन वर्णन गर्छिन् ।

सबैका लागि टिम्स  टिम्सले स्काइपको प्रविधि लिएको उनको विश्लेषण छ । तर यो बिजनेस एप स्ल्याकसँग प्रतिस्पर्धा गर्न वर्क टुलका रुपमा डिजाइन गरिएको थियो । तर त्यसपछि महामारी आयो । पहिला थोरै सुनिएको जुम रातारात घरपरिवारको सम्पत्ति भयो । र माइक्रोसफ्टको टिम्स जुमको प्रतिस्पर्धीका रुपमा लिनसक्ने विकल्प थियो ।

‘जसै टिम्सको ग्रहण गत वर्ष उच्च रुपमा वृद्धि भयो, यसले माइक्रोसफ्टको विरासत प्रविधिका रुपमा स्काइपको स्थान लियो’, आशेनडेनले भनिन् । यसले सिधै स्काइपसँग प्रतिस्पर्धा ग-यो । यति छोटो समयमै पाएको सफलतासँगै विन्डोजको डिफल्ट टुल हुनैपर्ने देखिएको उनको भनाइ छ ।

विन्डोजमा सुरुमै इन्स्टल हुने स्काइपलाई हटाएपछि टिम्स रोजाइको समाधान हुनेछ र योसँगै कम्पनीको लगानी अगाडि बढ्ने उनले बताइन् ।

गत सेप्टेम्बरमा माइक्रोसफ्टकै स्वामित्व रहेको लिंक्ड इनले आफ्नो च्याट फिचरमा स्काइपको साटो टिम्स प्रयोग गरेर भिडियो मिटिङ ल्याउने घोषणा गरेको थियो । त्यसमा जुम र ब्ल्यु जिन्सलाई अन्य विकल्प राख्ने बताएको थियो । गत अक्टोबरमा माइक्रोसफ्टका वरिष्ठ कार्यकारी जिम गेनरले सीएनबीसीसँग भनेका थिए, ‘यदि स्काइप ठूलो हुनेछ भने त्यसका लागि उपयुक्त समय यही वर्ष हो ।’

‘अहिले जे भयो त्यो आँधी नै आएजस्तो हो, कुनै पनि अनलाइन सञ्चार उत्पादनका लागि उपयुक्त समय पनि हो । यदि तपाईं साँच्चै आफ्नो उत्पादनलाई हुर्काउन बढाउन सक्नुहुन्न भने त्यसलाई फ्याँँक्नुहोस्, यसलाई अहिले नै बिर्सिदिनुहोस्, तपाईं एकदमै ढिला हुनुभयो’, गेनरले भनेका थिए ।

‘उपयुक्त समाधान’ तर महामारीमा स्काइपले उन्नति भने गरेको थियो । यसका दैनिक प्रयोगकर्ता ७० प्रतिशतले अर्थात् चार करोड हाराहारीमा थिए । तर यो त्यति ठूलो वृद्धि थिएन । खासगरी यसका प्रतिस्पर्धीको तुलना गर्दा । पूरै संसारलाई कलिङ एप चाहिएको समयमा मानिसहरुले अन्य विकल्प खोजे ।

‘यहाँ एउटा बलियो तर्क त छ– टिम्स अनुभव कम प्राविधिक गैरव्यावसायिक प्रयोगकर्ताका लागि अलि जटिल छ’, आशेनडेन भन्छिन्, ‘यदि त्यसका लागि स्काइप उपयुक्त समाधान थियो भने हामीले गत वर्ष नै यसको प्रयोग तीव्र गतिमा बढेको पाउँथ्यौँ, तर त्यो भएन ।’

बरु यसको साटो टिम्स विशेष गरी मोबाइल डिभाइसमा व्यक्तिगत प्रयोगकर्तााका लागि सहज हुने देखिएको उनको भनाइ छ । यद्यपि अहिले स्काइप पूरै गइसकेको होइन । विन्डोज ११ आए पनि यसलाई माइक्रोसफ्ट स्टोरमा डाउनलोडका लागि सिफारिस गरिनेछ । बीबीसीबाट भावानुवाद


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया