Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआफ्नै रकेटमा अन्तरिक्ष पुग्ने दोस्रो अर्बपति बने जेफ बेजोस

आफ्नै रकेटमा अन्तरिक्ष पुग्ने दोस्रो अर्बपति बने जेफ बेजोस


अमेरिका । अमेजनका मालिक संसारकै धनी व्यक्ति जेफ बेजोस आफ्नै रकेटमा अन्तरिक्ष पुग्ने दोस्रो अर्बपति बनेका छन् । यसअघि भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सनले पनि आफ्नै कम्पनीले तयार गरेको रकेट इन्जिनयुक्त विमानबाट अन्तरिक्ष यात्रा गरी कीर्तिमान कायम गरेका थिए । मंगलबार बेजोसको कम्पनी ब्लु ओरिजिनले बनाएको रकेट द शेपर्डबाट बेजोसले अन्य तीन जनासँगै सफल अन्तरिक्ष यात्रा गरेका हुन् ।

बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया वाली फंक र अर्का १८ वर्षे विद्यार्थी ओलिभर डाइमेनले अन्तरिक्ष यात्रा गरेको बीबीसीले जनाएको छ । योसँगै संसारका सबैभन्दा वृद्ध र सबैभन्दा कान्छा अन्तरिक्ष यात्रीको कीर्तिमान पनि कायम भएको छ । रकेटको यात्री बस्ने ठूला पारदर्शी झ्यालसहितको क्याप्सुलबाट उनीहरुले अन्तरिक्ष यात्रा गरेका हुन् । साथै उनीहरुले अन्तरिक्षबाट पृथ्वीको बाटुलो आकारको दुर्लभ दृश्य समेत अवलोकन गरे ।

उनीहरुले करिब ११ मिनेटमा अन्तरिक्ष उडान सम्पन्न गरेको बताइएको छ । अन्तरिक्ष पुगेका उनीहरु सकुशल प्याराशुटमार्फत पृथ्वीमा अवतरण भएको बीबीसीले उल्लेख गरेको छ । न्यु शेपर्ड अन्तरिक्ष पर्यटनका लागि तयार गरिएको रकेट हो । अमेरिकी राज्य टेक्ससको भान हर्ननजिकैको निजी प्रक्षेपण स्टेसनबाट बेजोसको अन्तरिक्ष यात्रा सम्पन्न भएको हो ।

अन्तरिक्षबाट फर्किएको क्याप्सुल अवतरण भएपछि बेजोसले यो दिनलाई अहिलेसम्मकै सबैभन्दा राम्रो दिन भएको प्रतिक्रिया दिए । प्रक्षेपणको दुई मिनेटमै क्याप्सुल रकेटबाट अलग भएको थियो । त्यसपछि पृथ्वीभन्दा सय किलोमिटरमाथि अन्तरिक्ष सीमा कार्मान लाइनतर्फ अग्रसर भएको थियो । द शेपर्डका चारै जनाले चार मिनेटसम्म आफ्नो घटेको तौलको अनुभव बटुले । शून्य गुरुत्व अवस्थामा उनीहरुले आफ्नो सिट छोडेर अन्तरिक्षमा तैरिएको बताइएको छ । कार्मान लाइन कटेसँगै उनीहरु खुसीले रमाइरहेको फुटेजबाट देखिएको थियो ।

वृद्ध अन्तरिक्ष यात्री बनेकी फंकले ‘ओ माई वर्ड, लुक एट द वल्र्ड !’ भन्दै खुसी भएकी थिइन् । सन् १९६० मा फंक मर्करी १३ भन्ने महिला समूहको एक सदस्य थिइन् । त्यतिबेला त्यही स्क्रिनिङ टेस्टका रुपमा पुरुष अन्तरिक्षयात्री बने पनि कहिल्यै अन्तरिक्ष पुग्न पाएकी थिइनन् । उनीहरु गएको क्याप्सुल पृथ्वीभन्दा १०६ किमि माथिसम्म पुगेर मरुभूमिमा सफल अवतरण भएको हो । अवतरण भइसकेपछि बेजोसले आफू अविश्वसनीय रुपमा सकुशल रहेको बताए ।

संसारकै धनी बेजोसले आफ्नो कम्पनी अमेजनको प्रमुख कार्यकारीबाट भर्खरै राजीनामा दिएका थिए । अन्य व्यवसायमा ध्यान दिन पद छोडेको उनको प्रतिक्रिया थियो । कान्छा अन्तरिक्ष यात्री बनेका डाइमेन वित्तीय क्षेत्रका चर्चित फाइनान्सियर जोस डाइमेनका छोरा हुन् । डाइमेनको समरसेट क्यापिटल पार्टनर नामक कम्पनी रहेको छ ।

यता सामाजिक सञ्जालमा भने अन्तरिक्ष पुग्ने दुवै अर्बपतिको चर्को आलोचना भएको छ । अन्तरिक्षयात्रामा खर्च गरेको पैसाले अरु नै राम्रो काम हुनसक्ने भन्दै उनीहरुको आलोचना भएको हो । जलवायु परिवर्तन तथा कोरोनाबाट संसारलाई मुक्ति दिन उक्त रकम खर्च हुनसक्ने आलोचकहरुको भनाइ छ ।

यस्तो आलोचनामाझ अर्बपति ब्रान्सन भने आलोचकहरुलाई अशिक्षित र अन्तरिक्षले पृथ्वीका लागि गर्ने योगदान नबुझेको टिप्पणी गर्छन् । स्याटेलाइटहरुले पृथ्वीका प्राकृतिक परिवर्तनबारे अनुगमन गरिरहेको बताउँदै धेरै रकेटयानहरु अन्तरिक्ष जानुपर्ने दाबी गर्छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया