Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘भारतमा टेस्ला युनिट’

‘भारतमा टेस्ला युनिट’

मस्कको एक ट्विटपछि धमाधम भारतीय राज्यहरुको निम्ता


नयाँ दिल्ली । विश्वका सर्वधनाढ्य तथा चर्चित अमेरिकी विद्युतीय कार निर्माता इलोन मस्कलाई तेलंगानापछि अब महाराष्ट्र र पश्चिम बंगालले पनि ठूलो अफर गरेका छन् । महाराष्ट्रका जलसंसाधनमन्त्री जयन्त पाटिलले आइतबार एक ट्विट गर्दै मस्कलाई महाराष्ट्रमा टेस्लाको कारखाना स्थापनाको लागि आमन्त्रित गरेका हुन् । जयन्त आर पाटिलले आफ्नो ट्विटमा लेखेका छन्, ‘महाराष्ट्र भारतको सबैभन्दा प्रगतिशीलमध्ये एक राज्य हो । भारतमा स्थापित हुन हामी महाराष्ट्रको तर्फबाट तपाईंलाई सबै आवश्यक सहयोग गर्छौँ । हामी तपाईंलाई महाराष्ट्रमा आफ्नो उत्पादन कारखाना स्थापना गर्न आमन्त्रित गर्छौँ ।’

महाराष्ट्रबाहेक तेलंगानाले पनि इलोन मस्कलाई कारखाना स्थापनाको लागि निम्तो दिएको छ । तेलंगानाका उद्योग तथा वाणिज्यमन्त्री केटी रामारावले भनेका छन् कि भारतमा कम्पनी जुन चुनौतीहरुको सामना गरिरहेको छ, त्यसको लागि टेस्लासँग साझेदारी गर्दा राज्यलाई खुसी मिल्नेछ । उनले भनेका छन्, ‘म भारतमा तेलंगाना राज्यको उद्योग वाणिज्यमन्त्री हुँ । भारत/तेलंगानामा व्यवसाय स्थापित गर्नको लागि आइपर्ने चुनौतीलाई लिएर काम गर्न टेस्लासँग साझेदारी गर्न पाउँदा खुसी हुनेछु । हाम्रो राज्य दिगो सुरुवातमा विजेता रहँदै आएको छ र भारतकै राम्रो लगानी गन्तव्य पनि रहेको छ ।’

त्यस्तै पश्चिम बंगालले पनि टेस्ला मालिक मस्कलाई आफ्नो कारखाना खोल्न आग्रह गरेको छ । पश्चिम बंगालका मन्त्री मोहम्मद गुलाम रब्बानीले मस्कलाई पश्चिम बंगाउन आउनसक्ने भन्दै यहाँ पूर्वाधार राम्रो रहेको र नेत्री ममता बनर्जीको भिजन पनि राम्रो रहेको उल्लेख गरेका छन् । उनले बंगालको अर्थ नै व्यवसाय भएको खुलाएका छन् ।

खास कुरा के हो ? विश्वकै ठूलो मूल्यवान् अटो कम्पनी टेस्ला लामो समययता भारतमा आफ्नो कार लन्च गर्ने कोशिसमा छ । ट्विटरमा एक प्रयोगकर्ताले मस्कलाई भारतमा टेस्ला लन्चको बारेमा सोधेका थिए । कम्पनीको कार एकदमै राम्रो रहेको र कम्पनी दुनियाँको सबै कुनामा हुनुपर्ने बताएका थिए । यसको जवाफमा मस्कले अहिले धेरै चुनौती रहेको र अब भारत सरकारसँग मिलेर काम गरिरहेको बताएका थिए ।

कर घटाउने माग : टेस्लाले भारत सरकारसँग विद्युतीय गाडीको आयात शुल्क कटौती गर्न अनुरोध गरेको थियो । तर केही घरेलु अटो कम्पनीले यसको विरोध गरिरहेका छन् । उनीहरुले यसबाट घरेलु उत्पादनमा हुने लगानीमा असर पुग्ने बताइरहेका छन् । टेस्ला यही वर्ष भारतमा आयातित विद्युतीय कार बेच्ने योजनामा छ । तर उसले भारतमा विश्वकै धेरै कर रहेको गुनासो गरिरहेको छ ।

के भन्छ सरकार ? सरकारी स्रोतले भने कुनै पनि गाडी निर्माता कम्पनीलाई सरकारले यसप्रकारले करछुट नदिएको र टेस्लालाई करसम्बन्धी लाभ दिँदा भारतमा अर्बौँ डलरको लगानी गर्ने दोस्रो कम्पनीको लागि राम्रो सन्देश नजाने बतायो । नवभारत टाइम्सबाट ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया