Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व रोजगारीमा २०२३ सम्म सुधार हुँदैन : आईएलओ

विश्व रोजगारीमा २०२३ सम्म सुधार हुँदैन : आईएलओ


अमेरिका । संयुक्त राष्ट्रसंघीय संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले सन् २०२३ सम्म विश्व रोजगारीको अवस्था महामारीअघिको हाराहारीमा नफर्किने बताएको छ । रिपोर्टअनुसार यो वर्ष प्रक्षेपित काम गरिएको घण्टा ५ करोड २० लाख पूर्णकालीन रोजगारीसँग बराबर रहने उल्लेख गरिएको छ । सन् २०२१ को तुलनामा विश्वभर काम गरिएको घण्टा कोरोना आउनुअघि भन्दा दुई प्रतिशतले कम रहेको आईएलओको रिपोर्टले उल्लेख गरेको छ ।

विश्व बेरोजगारी पनि महामारीअघिको तहभन्दा माथि नै रहने उल्लेख छ । सन् २०२२ मा पनि २० करोड ७० लाख मानिस कामविहीन रहने देखिएको छ । यस्तो संख्या सन् २०१९ मा १८ करोड ६० लाख थियो । विश्व बेरोजगारी दर ५.९ प्रतिशतसम्म पुग्ने देखिएको छ । गत वर्ष यो दर ६.२ प्रतिशत थियो भने सन् २०२० मा ६.६ प्रतिशत थियो । तर सन् २०१९ मा यो दर ५.४ प्रतिशत रहेको थियो ।

राष्ट्रसंघीय संस्थाले आफ्नो प्रक्षेपण डेल्टा र ओमिक्रोनजस्ता कोरोनाको भेरिएन्टसँगै घटाउनुपरेको उल्लेख गरेको छ । मे महिनामा आईएलओले २० करोड ५० लाख मानिस कामविहीन हुने र काम गर्ने घण्टा पनि घटेर दुई करोड ६० लाख पूर्णकालीन रोजगारीसरह नहुने बताएको थियो ।

आईएलओाका महानिर्देशक गाई राइडरले विश्व श्रम बजारले पुनरुत्थानमा सुस्त र अनिश्चित बाटो सामना गर्नुपरेको बताए । ‘हामीले यसअघि नै श्रमबजारमा ठूलो सम्भावित क्षति देखिरहेका छौँ, सँगसँगै गरिबी र असमानतामा पनि चिन्ताग्रस्त अवस्था छ’, राइडरले रिपोर्टमा उल्लेख गरिएको प्रेस वक्तव्यमा भनेका छन् ।

उनले ठूलो क्षेत्रको श्रमबजारमा पुनरुत्थान नआएसम्म महामारीबाट वास्तविक पुनरुत्थान नहुने बताएका छन् । उनले दिगोपनाका लागि पुनरुत्थान पनि स्वास्थ्य र सुरक्षा, समानता, सामाजिक रक्षा र सामाजिक संवादको सिद्धान्तअनुसार हुनुपर्नेमा जोड दिएका छन् । उत्तर अमेरिका, युरोपले पुनरुत्थानको राम्रो संकेत दिए पनि दक्षिण पूर्वी एसिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा राम्रो नभएको रिपोर्टले औँल्याएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया