Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका

इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका


कोलम्बो । श्रीलंका आफ्नो इतिहासमै पहिलोपटक आर्थिक रुपमा टाट पल्टिएको छ । ७० वर्षभन्दा लामो समययताकै खराब वित्तीय संकटमा फस्दा पहिलोपटक आफ्नो ऋण तिर्न नसक्ने अवस्था भोग्न श्रीलंका बाध्य भएको हो ।

बुधबार थप भएको ३० दिने अवधिमा पनि ऋणको ब्याज भुक्तानी गर्न श्रीलंकाले नसकेको हो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले देश ‘प्रि–एम्प्टिभ डिफल्ट’ (टाट पल्टिने अवस्थामा) पुगेको बताए । जब सरकारले ऋणदातालाई समयमै ऋण भुक्तानी गर्न सक्दैनन् त्यस्तो अवस्थालाई अंग्रेजीमा ‘डिफल्ट’ भनिन्छ । श्रीलंका अहिले यही अवस्थामा पुगेको हो ।

यसले देशको गरिमामा क्षति पु¥याउँछ भने अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने पैसा सापटी पाउन कठिन बनाउँछ । यतिमात्र होइन देशको मुद्रा र अर्थतन्त्रप्रतिको विश्वसनीयतालाई थप नोक्सानी समेत गर्न सक्छ ।

श्रीलंका अहिले ऋणै तिर्न नसक्ने अवस्था (डिफल्ट)मा पुगेको हो त भन्ने प्रश्नमा केन्द्रीय बैंकका गभर्नर पी नन्दलाल वीरासिंघेले भने, ‘हामी कहाँ छौँ स्पष्ट छ, जबसम्म उनीहरु ऋणको पुनर्संरचनाका लागि आउँदैनन्, हामी भुक्तानी गर्न सक्दैनौँ । त्यसकारण त्यसलाई तपाईंहरु ‘प्रि–एम्प्टिभ डिफल्ट’ भन्नुहुन्छ ।’

उनले थपे, ‘त्यहाँ प्राविधिक विश्लेषण हुनसक्छ…उनीहरुको पक्षबाट । यसलाई उनीहरुले डिफल्टको रुपमा लिन सक्छन् । हाम्रो स्थान धेरै स्पष्ट छ, ऋणको पुनर्संरचना नभएसम्म हामी भुक्तानी गर्न सक्दैनौँ ।’

श्रीलंका अहिले आफ्नो ५० अर्ब अमेरिकी डलरभन्दा धेरै ऋणको पुनर्संरचना गर्न खोजिरहेको छ । यो उसले विदेशी ऋणदातालाई तिर्नुपर्ने रकम हो । यसो हुँदा उसलाई व्यवस्थित रुपमा पुनर्भुक्तानी गर्न सहज हुन्छ ।’

श्रीलंकाको अर्थतन्त्र कोभिड महामारी, ऊर्जा मूल्यवृद्धि र लोकप्रियताको लागि ल्याएको करछुटले नराम्ररी प्रभावित भयो । विदेशी मुद्राको अभाव र बढ्दो महंगीले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको नराम्रो अभाव सिर्जना गराएको छ ।

पछिल्ला हप्ताहरुमा श्रीलंकाली सडकहरुमा राष्ट्रपति गोताबाय राजापाक्षे र उनको परिवारविरुद्ध हिंसात्मक ठूला प्रदर्शनहरु समेत हुँदै आएका छन् । श्रीलंकाले यसअघि नै अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण सम्झौतामा छलफल समेत सुरु गरिसकेको छ । यो वर्षमात्रै सरकारलाई चार अर्ब डलर आवश्यक रहेको यसअघि नै बताइसकेको छ ।

गभर्नर वीरासिंघेले महंगी अझै बढ्नसक्ने बताएका छन् । उनले भने, ‘महंगी अहिले ३० प्रतिशत हाराहारीमा छ । यो अझै माथि ४० प्रतिशतसम्म केही महिनामै पुग्नसक्छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया