अफगान भूकम्प : कम्तीमा एक हजार जनाको मृत्यु
काबुल । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको अनलाइन डनका अनुसार अफगान अधिकारीहरुले सो संख्यामा मृत्यु भएको बताएका हुन् ।
बुधबार बिहानै भूकम्प गएको थियो । अझै पनि मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । पूर्वी अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । तालिबान सत्तामा आएयताकै यो ठूलो हताहतीको विपद् हो । भूकम्पका कारण मानिसहरुको घर भग्नावशेषमा परिणत भएका छन् ।
उद्धारका लागि हेलिकप्टरहरु परिचालन गरिएका छन् । यसबाट घाइतेहरुको उद्धार गरिएको छ भने औषधिजन्य सामग्रीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । भूकम्पमा परी पक्तिकामा दुई सय ५५ जनाको मृत्यु, दुई सय घाइते भएको पुष्टि भएको छ । त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृत्यु भएको छ । युरोपेली भौगर्भिक सर्वेले ६.१ म्याग्निच्युड मापन गर्दा अमेरिकी भौगर्भिक सर्वेले भने ५.९ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।
विपद् व्यवस्थापन अधिकारीहरुले एक हजार जनाको मृत्यु भएको बताएका छन् । उनीहरुका अनुसार छ सयभन्दा धेरै घाइते भएका छन् । तर स्थानीय अधिकारीहरुले भने घाइतेको संख्या धेरै रहेको जनाएका छन् । कम्तीमा १५ सय जना घाइते रहेको उनीहरुको भनाइ छ । तर अझै मृत्यु र घाइतेको संख्या बढ्नसक्ने जनाइएको छ । घाइतेहरुलाई काबुल र गार्देजमा उपचारका लागि लगिएको छ । अफगानिस्तानमा वर्षात् पनि भइरहेकाले उद्धारमा कठिन अवस्था सिर्जना भएको छ । समयमै उपचार नपाउँदा समेत धेरैको ज्यान गएको बताइएको छ ।
तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति
पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् ।
तीन दशकमा गयो हजारौँको ज्यान
३० वर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार पाँच सय जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो ।
एएफपीका अनुसार सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए । पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४, १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी चार हजार पाँच सय व्यक्तिको मृत्यु भएको थियो । हजारौं घरबारविहीन भएका थिए । सोही वर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको छ । यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो । भूकम्पका कारण एक हजार पाँच सय जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए ।
२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो । सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।
त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी आठ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौं घरबारविहीन भएका थिए । भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन सहर पूरै ध्वस्त भएको थियो । जून ११, २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो । चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए ।
अक्टोबर २६, २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी तीन सय ८० जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया