Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘फर्निचर र फर्निसिङका उत्पादन विलासिता नभई अनिवार्य वस्तु हुन्’

‘फर्निचर र फर्निसिङका उत्पादन विलासिता नभई अनिवार्य वस्तु हुन्’


फर्निसिङ व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै आएका काभ्रेपलाञ्चोकका सञ्जय लामा हाल नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव हुन् । अहिले भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२३ का प्रवक्ता समेत रहेका लामाले कार्पेटको उत्पादन तथा थोक बिक्री वितरण गर्दै आएका छन् । ड्रिम इन्टरनेसनल ट्रेडिङ र डिलाइट बिजनेस ग्रुप प्रालिमार्फत उद्योग तथा व्यापार गर्दै आएका लामासँग फर्निचर एक्स्पो तथा समग्र बजारका सम्बन्धमा आर्थिक दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।

फर्निचर तथा फर्निसिङ क्षेत्रको बदलिँदो स्वरूपमा यहाँको अनुभव कस्तो छ ?
एकदुई वर्षयता फर्निचर तथा फर्निसिङ क्षेत्रमा मन्दी आएको छ । विगतका वर्षहरूमा जसरी बिक्री हुने गथ्र्यो, त्यसरी बिक्री हुन सकेको छैन । देशको अर्थतन्त्रमा आएको मन्दीले यो क्षेत्रमा पनि प्रभाव पारेको छ । फर्निचर उद्योग तथा व्यापार मात्र नभई सबै क्षेत्रमा यसको असर परेको छ । तर सकारात्मक पक्ष के हो भने यस क्षेत्रमा उपभोक्ताको रूचि बढिरहेको छ । भोलिका दिनमा बजार सामान्य अवस्थामा आउँदा यसको दायरा फराकिलो हुनेमा हामी आशावादी छौँ ।

अहिले बैंकमा तरलता बढेको छ तर तपाईंहरू कर्जा पाउन गाह्रो छ भन्नुहुन्छ, समस्याचाहिँ के हो ?
राष्ट्र बैंकले बजारमा तरलता अभावको समस्या छैन भने पनि उद्योगी व्यवसायीले त्यसको अनुभूति गर्न पाएका छैनन् । देशको अर्थतन्त्र चलायमान हुन उद्योग व्यवसाय सञ्चालनमा आउनुपर्छ । राष्ट्र बैंकले व्यवसायमैत्री नीति नबनाउँदा हाल अवस्था नाजुक हुन पुगेको हो । लगानी गर्नका लागि जुन वातावरण व्यवसायीका लागि हुनु पर्ने हो, त्यो बन्न सकेको छैन । यदि बैंकले भनेजस्तो हुन्थ्यो भने कर्जा प्रवाह किन अपेक्षित हुन सकेन त ? यो कुरा बैंकहरूलाई राम्ररी थाहा छ तर उनीहरू यस्ता विषय बाहिर ल्याउँदैनन् । अर्काेतिर बजारमा माग नै नभएको बेला उद्योगी व्यवसायीले किन कर्जा लिएर ब्याजको भारी बोक्छ भन्ने हो ।

पाँच वर्षपहिले र अहिलेको बजारलाई तुलना गर्न मिल्छ ?
विगत पाँच वर्षको अवस्था केलाउँदा फर्निचर तथा फर्निसिङको व्यापारमा आएका सकारात्मक परिवर्तन हामीले देख्न सक्छौँ । बजारको शैली उपभोक्ताका कारण परिवर्तन भएको छ । यो समयमा उद्योग तथा व्यापारमा संलग्न हुनेहरूको संख्या पनि बढिरहेको छ । पछिल्लो वर्ष भने यो क्रम केही मात्रामा प्रभावित भएको छ । आजभन्दा पाँच वर्षअघि जुन उत्साह र द्रूत गतिमा बजार अगाडि बढिरहेको थियो, त्यो अहिले देखिँदैन । कोभिडपछि मानिसहरूको क्रयशक्ति कमजोर हुँदै गएको छ । जसरी बजार चलायमान हुनुपथ्र्यो, व्यापारको चहलपहल जसरी बढ्नुपथ्र्यो, त्यो छैन । देशमा नै मन्दी छाएको समयमा हाम्रो व्यवसायमा समेत मन्दी आउनु स्वाभाविक हो ।

उपभोक्ता फर्निचर सामग्री किन्ने विषयमा पहिलेको तुलनामा अहिले चलाख भएका हुन् ?
आजभन्दा १० वर्षअघि मानिसहरूले फर्निचर तथा फर्निसिङ क्षेत्रलाई विलासी मान्थे । साजसज्जामा खासै ध्यान दिने उपभोक्ता थिएनन् । घर बनाइसकेपछि मात्रै फर्निचर लिन्थे भने अहिले मानिसहरूको चेतना वृद्धि भएको छ । मानिसहरूले फर्निचरलाई आवश्यकता र अनिवार्यरूपमा लिन सुरु गरेका छन् । घर, अफिस, होटल वा जुनसुकै संरचना निर्माण गर्दा फर्निचर तथा फर्निसिङको बारेमा इन्टेरियर डिजाइनरसँगै मिलेर सल्लाह सुझाव लिने गरेका छन् । कस्ता समान किन्ने, मूल्य, गुणस्तरजस्ता विषयमा आज धेरैले चासो दिने गरेका छन्, विगतमा यस्तो हुँदैन थियो । पछिल्लो १० वर्षलाई हेर्दा फर्निचर तथा फर्निसिङ क्षेत्रमा मानिसहरूको उत्साह बढ्दो छ । यसले गर्दा नै उद्योग व्यवसाय गर्नेहरू पनि उत्साहित बनिरहेका छन् ।

फर्निचर तथा फर्निसिङको क्षेत्रमा थप सुधार ल्याउन आवश्यक पर्ने नीतिगत पहल सम्बन्धमा तपाईँको विचार ?
पछिल्लो पाँच वर्षको तथ्याङ्क र अवस्थालाई हेर्ने हो भने फर्निचर तथा फर्निसिङ क्षेत्रमा विशेषतः कार्पेट र म्याट्रेसमा हामी आत्मनिर्भर भइसकेका छौँ । फर्निसिङअन्तर्गतको कार्पेटिङका लागि आवश्यक पर्ने कच्चापदार्थ खरिद गरे पनि उत्पादनमा हामी ९०–९५ प्रतिशतसम्म आत्मनिर्भर छौँ । हामीले अहिले अन्तर्राष्ट्रियस्तरकै गुणस्तर भएको कार्पेट तथा म्याट्रेसको उत्पादन गर्दै आएका छौँ । पछिल्लो समयमा हामीले उपभोक्ताको चाहनाअनुरूपको सामग्री उत्पादन गर्दै आएका छौँ । कस्टुमाइज्ड उत्पादन पनि हुने गरेको छ । तर राज्यबाट उद्योगी व्यवसायीलाई सघाउने काम भएको छैन जस्तो लाग्छ ।

सरकारले नीति ल्याउँदा ख्याल गर्नुप-यो कि हरेक सरकारी कार्यालयमा नेपालमै उत्पादन भएका सामग्रीको प्रयोग होस् । कार्पेट, म्याट्रेसदेखि फर्निचर र अन्य फर्निसिङको लागि अनिवार्यरूपमा नेपालमा नै उत्पादन भएका सामग्रीहरू प्रयोग होस् भन्ने हाम्रो चाहना हो । यसले नेपालमा उत्पादित सामग्रीको प्रवद्र्धन हुनुका साथै उपभोक्तले चाहेको सामग्री उत्पादन गर्न हामीलाई हौसला पनि मिल्छ । अहिलेका कतिपय कानुन तथा नीतिनियम पुराना भइसकेको अवस्था छ । त्यति हुँदा पनि सरकारले हामीसँग समन्वय नै नगरी नयाँ व्यवस्थाहरू कार्यान्वयन गर्दा समस्या झनै बढेका छन् ।

फर्निचर तथा फर्निसिङका उत्पादनलाई विलासिताको रूपमा व्याख्या किन गरिएको होला ?
कानुनीरूपमा यसलाई विलासिता भनिएको छैन तर व्यवहारमा अहिले पनि यो सोचमा सुधार भएको छैन । पहिलेपहिले एउटा खाट भए पुग्थ्यो, अरू सामान विलासिता हो भनिन्थ्यो । अहिले तपाईँ बिहान उठेदेखि खाना, कार्यालय, खाजा, होटल जहाँ जानुस् यही उद्योगले तयार गरेका वस्तु तथा सामानमा आश्रित हुनुपर्छ । अनि कसरी यसलाई विलासिता भन्न मिल्यो ? यो सोच बदल्नका लागि नीतिगत व्यवस्था नै गरिनुपर्छ । जसले बजारमा उपभोक्ताले सहजै यस्ता उत्पादन पाउन सकून् । पछिल्लो समय मानिसमा इन्टेरियर डिजाइनलाई लिएर जुन चेतना विकास भइरहेको छ, त्यसलाई ध्यानमा राख्दै फर्निचर तथा फर्निसिङलाई विलासिताको सूचीमा राखेर हुने व्यवहारमा परिवर्तन हुँदा त्यसको सकारात्मक असर कुनै न कुनैरूपमा अर्थतन्त्रमा पर्छ ।

असहज परिस्थितिका बाबजुद एक्स्पो आयोजना गर्दै हुनुहुन्छ, कस्ता चुनौती देखिएका छन् ?
सन् २०१२ मा सुरु भएको यस एक्स्पोको यो नवौंँ संस्करण हो । मन्दीका बाबजुद अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले हामीले यस वर्ष फर्निचर एक्स्पो गरेका छौँ । उपभोक्तालाई एउटै छानामा विभिन्न सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले हामीले सञ्चालन गरेका हौँ । यस क्रममा सहज त पक्कै भएन । हुन त कुनै पनि काम सहज हुँदैन तर विगतका वर्षको तुलनामा यस पटक साचेजस्तो सहज नभएको नै हो । स्टलमा आउनका लागि नै साथीहरू डराइरहनु भएको थियो । भोलिको आशामा मात्र साथीहरूले सहभागिता जनाउनु भएको छ ।

उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण सबैको व्यापार धेरै घटेको छ । यो अवस्थाका बीच प्रदर्शनीमा आउन नखोज्नु स्वाभाविक हो । किनकि पछिल्लो वर्ष धेरै साथीहरू आउनखोज्नु भएको थियो, सबैलाई समेट्न सकिएन । यसपटक निर्धारित समयमा सबै स्टल बुक भए पनि पछिल्लो वर्षको जस्तो अवस्था अलि बन्न सकेन । यद्यपि, जेजति व्यवसायीहरू सहभागी हुनुभएको छ, सबै भोलिको बजार राम्रो हुने अपेक्षामा आउनुभएको छ । आशा छ, यसको सुखद् नतिजा पक्कै आउने छ ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया