Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात

६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात


रामहरी चौलागाइँ
काठमाडौं,जेठ १३
मुलुकमा लकडाउन भएको दुई महिना बितिसकेको छ । नेपाली जनताले यो अवधिमा दैनिक उपभोग्य खाद्यलगायत अत्यावश्यक वस्तुको अभाव अहिलेसम्म झेल्नु परेको छैन । नोबल कोरोना भाइरस संक्रमणको जोखिम घटनुको सट्टा झन बढ्दै गइरहेको छ । यो महामारीको कहर मुलुकले कहिलेसम्म बेर्होनुपर्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन । लकडाउनका कारण नेपालको मात्र नभई पूरै विश्वको आर्थिक गतिविधिमा सुस्तता छाएको छ । अझ भन्नुपर्दा हवाइ यातयातमा उडानमा रोक लगाइएपछि पूरै विश्वलाई एकअर्को मुलुकबीच अलग भई खुम्चिनु परेको छ । हवाइ यातयातमार्फत आयात गर्नुपर्ने सामग्रीहरूको आयातसमेत रोकिएको अवस्था छ ।

मुलुकमा कोरोनाको संक्रमण नरोकिएर थप भयावह हुँदै गयो भने दैनिक उपभोग्य वस्तुको अभाव हुने हो कि भन्ने चिन्ता सर्वसाधरण नागरिकमा परिरहेको छ । तर, सरकार भने अहिले नै त्यसरी आत्तिहाल्नुपर्ने अवस्था आइनसकेको बताउँदै आएको छ । मुलुकमा महामारी नियन्त्रणको लागि अझै केही महिना लकडाउन बढाउनुपर्ने स्थिति आयो भने पनि खाद्यान्नको अभाव भइहाल्ने स्थिति छैन । लकडाउनलाई थप गर्दै जानुपरेको खण्डमा पनि आगामी ६/८ महिनासम्मको लागि आवश्यक पर्ने खाद्यान्नलगायत दैनिक आवश्यक पर्ने वस्तुको पर्याप्त मात्रामा मौज्दात रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनिसँग अहिलेसम्म १६ हजार तीन सय ६१ मेट्रिक टन चामल मौज्दात रहेको छ । यसैगरी निजी क्षेत्रसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको छ भने अझ निजी क्षेत्रसँग रहेको धानलाई कुटाउँदा कुल परिमाण एक लाख ३९ हजार मेट्रिक टन पुग्ने सरकारी आंकलन र तथ्याङ्क रहेको छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले एक लाख ३३ हजार पाँच सय मेट्रिक टन नुन मौज्दात रहेको छ । यो परिमाणले ८ देखि ९ महिनासम्म मुलुकको मागलाई धान्न सक्ने अनुमान सरकारको रहेको छ । यसैगरी साल्ट ट्रेडिङसँग हाल चिनीको परिमाण केही घटेको भए पनि त्यसलाई कमी हुन नदिने गरी खरिद प्रक्रियालाई अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

कर्पोरेशनसँग हाल दुई हजार दुई सय ४१ मेट्रिक टन मात्र चिनी मौज्दात रहेको छ । चिनी खरिद प्रक्रिया अगाडि बढाइसकिएकोले अभाव हुन नदिने मन्त्रालयको भनाइ छ । यता निजी क्षेत्रसँग पनि आवश्यक मात्रामा चिनी स्टक रहेकोले पनि अभाव नहुने सरकारको दाबी छ । निजी क्षेत्रसँग अहिले ६३ हजार २० मेट्रिक टन चिनी मैज्दात रहेको बताइन्छ । यसैगरी दाल, गेडागुडी र खाने तेलको पनि अभाव हुने छैन । पेट्रोलियम पदार्थको आयत पनि निरन्तर भइरहेकोले समस्या नहुने बताइएको छ । हाल सवारी साधन र हवाइ यातयात पनि नचलेकोले पोट्रोलियम पदार्थको कारोबारमा निकै कमी आएको छ ।

उपत्यकामा ‘लकडाउन’ खुकुलो : संघीय राजधानी काठमाडौं उपत्यकामा अहिले फेरि सवारी साधनको चाप बढ्न थालेको छ । उपत्यकाभित्र नोबल कोरोना भाइरसको संक्रमणका बिरामी जब देखा पर्न थाल्दछन तब सरकार चनाखो हुँदै काम गरेको देखाउन खोज्छ । त्यसपछि लकडाउनलाई कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिन्छ । सरकारको यो व्यवहारलाई हेर्दा लाग्छ ‘जब राति, बुढी ताती’ भन्ने उखानलाई चरीतार्थ हुन्छ । सरकारले चैत्र ११ गतेदेखि लागू गरेको लकडाउनलाई पटक–पटक समय थप गर्दै आगामी जेठ गते २० गतेसम्म पु-याएको छ ।

सरकारले वैशाखको अन्तिम हप्ताबाट लकडाउनलाई केही खुकुलो पार्दै जनजीवनलाई केही सहज पार्न खोजेको थियो । त्यस लगत्तै मुलुकभरि नै एकाएक संक्रमितको संख्या बढ्न थालेपछि लकडाउनलाई कडाइ गदै अगाडि बढने रणनीति अखित्यार गरेको छ । सीमानाकाबाट उपत्यकाभित्र प्रवेश गर्ने सवारी साधनमा रोक लगाउने भने पनि खासै कार्यान्वयन हुन सकिरहेको छैन । जेठ महिनाको सुरुवातसँगै मुलुकभरि नै लकडाउनलाई कडाइ पारिएको थियो । अहिले अवस्थामा बदली आएको पाउन सकिन्छ । उपत्यका प्रवेश गर्ने नाकाहरूलाई कडा गर्ने र काठमाडौंभित्र भने सवारी साधन सञ्चालनमा केही खुकुलो पार्दै लैजाने नीति सरकारले अख्तियार गरेको होकी भन्ने भान पर्न थालेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया