Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा दैनिक ७ घण्टा बजार खुल्ने

दोलखामा दैनिक ७ घण्टा बजार खुल्ने


सुबास बस्नेत
दोलखा, जेठ २२
उद्योग वाणिज्य संघ दोलखाले जिल्लामा दैनिक सात घण्टा बजार खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको समन्वयमा दैनिक ७ घण्टा पसल खोल्ने सहमति भएको हो । लकडाउनको अवधिमा प्राय सुनसान देखिएका दोलखाका बजारमा बुधबारबाट भने चहलपहल बढेको पाइएको छ । लकडाउनले जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि दोलखामा बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको हो ।

उद्योग वाणिज्य संघको मौखिक प्रस्तावमा होटल रेस्टुरेन्ट बाहेकका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । आर्थिक गतिविधि नै ठप्प हुँदा व्यापारी तथा व्यवसायी मारमा परेको भन्दै केही सहज होस् भन्ने उदेश्यले ७ घन्टा बजार पसल खोल्न दिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम चरीकोटमा करिब साढे तीन सय पसल सञ्चालनमा रहेका छन् । जसमध्ये करिब एक सयको हाराहारीमा बुधबार दिउँसो १२ बजेसम्म पसल खुलेका थिए । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामानका पसलहरू भने पहिलेदेखि नै खोल्न दिएको थियो । चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ २१ गतेसम्म आफूहरूले इमानदार भएको माने पनि अब पसल बन्द गरेर बस्न नसकिने भन्दै संघले पसल खोल्न प्रशासन कार्यालयसँग अनुमति मागेको थियो । पसल खुलेसँगै मानिसहरूको चहलपहल पनि बढेको छ ।

साथै सवारी साधनको ओहोरदोहोर पनि बढेको जिल्ला ट्राफिक कार्यालय चरीकोटका ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले बताए । नेपालका अनुसार बजार धेरैजसो निर्माण सामग्री ढुवानीका सवारी चल्ने गरेका छन् । लकडाउनका बीच पनि जिल्लामा महत्वपूर्ण आयोजनाको काम सुचारु भइरहेको हुँदा निर्माण सामग्रीका सवारी चल्ने गरेको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया