Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रहरीकै संलग्नतामा पर्साका नाकाहरुबाट तस्करी

प्रहरीकै संलग्नतामा पर्साका नाकाहरुबाट तस्करी


पर्सा, असार ९
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा बन्द रहेको तस्करी कार्य प्रहरीकै सहयोगमा सुचारु भएको पाईएको छ । करिब ३ महिनादेखी बन्द रहेको सीमा नाकाबाट अवैध तरिकाको आयात निर्यात कार्य नेपाल प्रहरीकै क्राइम टोलीको सहयोगमा सुचारु भएको हो ।

पर्साको श्रीसिया, अलौ, भकुवा, अमरपटी, भिष्वा, जानकी टोला, आसवारी लगायतको ठाउहरुबाट तस्करी कार्य सुचारु भएको छ । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउनु भन्दापनि सीमाको फाइदा नेपाल प्रहरीले उठाए पश्चात तस्करीको कार्य सुचारु भएको बुझिन्छ । ३ महिनादेखी बन्द रहेको तस्करीको कार्य जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली ईन्चार्ज रबिभुषण यादव समक्ष मोटो नजराना पुगे पश्चात पुनः सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलीका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादवको इशारा पाउनसाथ सीमा नाकाबाट तस्करीको लाइन पाउने गरेको बताइन्छ ।

तस्कर संगठनका मुख्य नाइकेहरुको नामले भेटी चढाइ सके पश्चात तस्करीको लाइन सुचारु हुने गरेको श्रोतको दावी रहेको छ । प्रहरी श्रोतका अनुसार क्राइमको नामले रकम नदिएर तस्करीको लाइन चलाउदा कारवाहीको भागिदार हुने र क्राइमलाई भेटी चढाए पश्चात केही नहुने तथा उल्टै संरक्षण हुने गरेको छ । स्रोतका अनुसार पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने बिभिन्न नाकाहरुबाट खुलेयाम तस्करी भइरहेपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्त मौन हुनु आर्थिक चलखेल बारे सजिलै बुझन सकिन्छ ।

नेपाल प्रहरीले मात्र चाहेर तस्करीको लाइन चलाउनु असम्भव रहेकोले सीमा क्षेत्रमा बसेका सशस्त्र प्रहरीलाई समेत मोटो रकमको नजराना बुझाउनु परेको तस्कर श्रोतले जनाएका छन् । उनले आफ्नो नाम नछाप्ने सर्तमा तस्करीको अग्रिम मासिक प्रहरी समक्ष नपुगुन्जेल तस्करीको लाइन क्लियर हुनु असम्भव रहेको ठोकुवा गरे । प्रहरीले चाहे तस्करीको लाइन चलाउन दिने नत्र नदिने भन्ने शब्द लकडाउन खुकुलो हुनसाथ चरितार्थ भएको छ ।

तस्करीको रकम उठाउनको निम्ति जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्यूआरटी टोलीको कमाण्डरलाई समेत हेरफेर गरिएको छ । क्युआरटीको माध्यमले रकम असुली गर्नको निम्ति प्रहरी नायब निरीक्षकको पद हुनुपर्नेमा कमाण्डर प्रहरी हवलदारलाई नियुक्त गरिएको बताइन्छ । यस्ता अवैध क्रियाकलाप गर्ने प्रहरी निरीक्षक माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक रहेको स्थानीयको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया