Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबुद्ध होलिडेजको सस्तो र आकर्षक होलिडे प्याकेज

बुद्ध होलिडेजको सस्तो र आकर्षक होलिडे प्याकेज


काठमाडौं, साउन १२
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले कोभिड– १९ वाट सुस्त रहेको आर्थिक स्थितिलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको जनाएको छ । कम्पनीले बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा उक्त प्याकेज ल्याएको हो ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि बढेसंगै करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र अव पूर्ववत् अवस्थामा फर्कने संकेत देखिन थालेका छन् । कम्पनीले उक्त प्याकेज अन्र्तगत दुई दिन तीन रातको प्याकेजमा पोखराको लागी पाँच हजार ९ सय ९९ रुपैयाँ र चितवनका लागि सात हजार ९ सय ९९ रुपैयाँ मुल्य तोकेको छ ।

यसमा दुईतर्फी हवाइ टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । यसैगरी चितवनको पनि दुईतर्फी हवाइ टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो । प्याकेजको मुख्य उद्देश्य सुरुमा आन्तरिक पर्यटनलाई चलायमान तथा प्रवर्द्धन गरी हाम्रा सेवा सुरक्षित छन् भनी विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको होलिडेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आस्था बस्नेतले बताइन् ।

संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरशः पालना गर्दै यात्रु तथा पर्यटकलाई सङक्रमणरहित घुमफिरका लागि पनि बुद्ध होलिडेजले अनुरोध गरेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेस्टुराँ तथा त्यहाँ रहेका कामदारलाई पनि समेटेको सिइओ बस्नेतले बताइन् ।

‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी संवेदनशील रहेका छौँ र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्नेछौँ’, उनले भनिन् । बुद्ध एयरले ११ एटीआर जहाजसहित १३ जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । निजी क्षेत्रका यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि उडान तथा सहुलियतका प्याकेज घोषणा गर्ने जनाइएको छ ।

आगामी भदौ १५ गतेदेखि होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुल्दैछन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ । वायुसेवा प्रदायक कम्पनीले उत्साहपूर्वक उडानको तयारी गरिरहेका छन् । हवाइ कम्पनीहरुले स्वास्थ्य प्रोटोकल बनाएर सुरक्षित उडानको पूर्वअभ्यासका साथै बुकिङ खुलाएर आकर्षक प्याकेज समेत बनाइरहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया