Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसरकारको अनुगमन नै छैन

सरकारको अनुगमन नै छैन

तोरीको तेलमा उद्योगी राठीको कार्टिलिङ


विराटनगर ।
सुनसरी मोरङ औद्योगिक करिडोरमै उद्योगीहरूको कार्टिलिङका कारणले बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले वृद्धि गराएको खुद्रा व्यवसायीहरूले बताएका छन् । उद्योगीहरूले यो एक महिनाको अवधिमा मात्र तोरीको तेलको भाउ प्रतिलिटर २० देखि ३० रूपैयाँसम्मले वृद्धि गराएको जानकारी खुद्रा व्यवसायीले दिएका छन । तिहारसम्म एक सय ७० रूपैयाँदेखि एक सय ८५ रूपैयाँ प्रतिलिटरमा कारोबार भएको तोरीको तेल एक्कासी तिहारपछि वृद्धि गरी एक सय ९० देखि दुई सय पाँच रूपैयाँसम्म पु-याइएको थियो । तर यो मुल्यवृद्धि पनि धेरै दिन टिक्न सकेन । अन्ततः उद्योगीको कार्टिलिङ हावी हुँदै गएपछि करिब दुई हप्तायता दुई सय पाँच रूपैयाँको तोरीको तेलमा मूल्यवृद्धि गरी प्रतिलिटर दुई सय २० रूपैयाँको कारोबार गर्न थालेको खुद्रा व्यवसायीले बताएका छन् । तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रूपैयाँभन्दा बढीले बढेको छ ।

उद्योगीले आफ्ना होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराएको र खुद्रा व्यापारीले पनि बढेको मूल्य कायम गरी तोरीको तेल बिक्रीवितरण गर्न थालेपछि उपभोक्ताहरू महँगीको मारमा परेका हुन् । एक खुद्रा व्यवसायीले भने मूल्य बढेको छ भनेर उद्योगीको नयाँ मूल्य होलसेलरले पठाएका छन् तर मूल्य बढ्ने कारण आफूहरूलाई थाहा नभएको जानकारी दिएका छन् । उद्योगीको मनपरी मूल्य कायमले गर्दा उपभोक्तालाई एक महिनाको बीचमै तोरी तेलको भाउ लिटरमै करिब ५० रूपैयाँसम्मले बढ्न पुगेको छ ।

महिनौँअघि उद्योगमा प्याकिङ अवस्थामा राखेका तेलको भाउ पनि होलसेलर व्यापारीहरूले एक्कासी बढाएर बजारमा पठाएपछि तेलको मूल्य आकासिन पुगेको गुनोसो उपभोक्ताहरूले गर्न थालेका छन् । तेलको अधिकतम खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी उद्योगी र उद्योगीका होलसेलरले तेलको भाउ बढाएको जानकारी खुद्रा व्यापारीहरूले दिएका छन् । उद्योगीहरूले फेरि प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भए पनि होलसेलरले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्नन सक्ने अवस्था सिर्जना भएको गुनासो पनि खुद्रा व्यवसायीहरूले गर्न थालेका छन् ।

पछिल्लो समय बजारमा बिक्री हुने तोरीको तेलको मूल्यमा खुद्रालाई दिनेभन्दा पनि बढीमा अधिकतम खुद्रा मूल्य उद्योगले तोकिदिएपछि तोरीको तेलमा हुने कार्टिलिङ रहस्य खुलेको हो । विराटनगरमा रहेको चन्द्रशिव राइस एण्ड आयल मिल्सबाट उत्पादन हुँदै आएको घैला ब्राण्डको तोरी तेलमा उद्योगी हरीवंश राठीले मनपरी मूल्य कायम गर्नेगरेको कुरा खुद्रा व्यापारीहरूले आरोप लगाएका छन् । चन्द्रशिव राइस एण्ड आयल मिल्सबाट उत्पादित घैला ब्राण्डको तोरी तेलले सुनसरी मोरङ र झापा जिल्लालाई लक्षित गरी मनमरी मूल्य कायम गरेपछि अन्य उद्योगीहरूले पनि बाध्य भएर तोरीको तेलमा मूल्यवृद्धि गर्नुपरेको स्वयं उद्योगीले नै जानकारी दिएका छन् ।

उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमा अहिले एक हप्ताअगाडि मात्र तोरीको दानामा केही मूल्यवृद्धि मात्र भएको हुँदा उक्त मूल्यवृद्धिको तोरी नेपाल आउन करिब तीनदेखि चार महिना लाग्ने जानकारी पनि उद्योगीले दिएका छन् । सोही तोरीको दानामा भएको मूल्यवृद्धिको बहानामा अहिले नै तोरीको तेलमा मूल्यवृद्धि गर्नु न्यायोचित नहुने तर्क पनि उद्योगीले नै गर्न थालेका छन् । तर चन्द्रशिव राइस एण्ड आयलका सञ्चालक हरिवंश राठीले अन्तर्राष्ट्रिय बजारमा तोरीको दानामा सामान्य मूल्यवृद्धि हुनासाथ आफ्नो उद्योगको उत्पादनमा नै मूल्यवृद्धि गर्नु बेइमानी भएको तर्क पनि एक उद्योगीले नै गरेका छन् ।

उद्योगी राठीले पनि पछिल्लो समय बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने मूल्य भन्दा २० रूपैयाँसम्म बढी एमआरपी नै तेलमा बढाएको कुरा खुद्रा व्यवसायीले बताएका छन् । जसले गर्दा पछिल्लो समय बजारमा तेलको भाउ अचाक्ली बढे पनि सरकारी अनुगमन भने शून्य अवस्थामा भएकाले तोरीको तेलमा उद्योगी राठीको कार्टिलिङ हावी भएको कुरा जाकारहरूले बताएका छन् । विराटनगरलगायत प्रदेश १ का बजारमा एक सातादेखि तोरीतेलको भाउ बढे पनि अनुगमनकारी निकाय मौन बसेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया