Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको आरोप

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको आरोप


काठमाडौं, पुस २४
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि २० करोड घुस मागेको कार्यकारी निर्देशक दुर्गा प्रसाईले खुलासा गरेका छन् । प्रसाईले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीलाई सम्बन्धन दिनका लागि द्वारिका होटलमा बोलाएर यति ठूलो रकम माग गरेको बताएका हुन् । पुस महिनाभरि सम्वन्धनको लागि पर्खिने र माघ लागेपछि आफू अदातलमा मुद्दा दिन लागेको जानकारीे दिएका छन् ।

पत्रकार सम्मेलनमा प्रसाईले गएको मंसिर १५ गते द्वारिका होटलमा उपाध्यक्ष गिरीले आफूलाई भेट्न बोलाएर उक्त रकम मागेको बताए । ‘ममाथिका नेताहरूलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’ उनले भने । त्यसपछि म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा गएँ । उहाँलाई गिरीले मागेको रकमको बारेमा जानकारी गराए । उनले पत्रकार सम्मेलनमा धक नमानी निर्धक्कसँग गोप्य कुराकानीको रहस्य खुलाए । त्यति बेला यो विषयलाई किन बाहिर ल्याउनुभएन त भनेर गरिएको प्रश्नमा सञ्चालक प्रसाईले भने समय आएपछि मात्र रहस्यको पोको खोलिदिएको बताए । उनले भने बैंकमा २० करोड बचत गर्दा एक वर्षमा २० लाख ब्याज आउँछ । तर, २० करोड कहाँबाट ल्याएर दिनु ? एउटा विद्यार्थीसँग ४४ लाख लिएर पढाउनुपर्छ । पैसा दिन नसक्ने भए गिरीले ‘मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत सेयर पास गरिदिनुस्’ भनेको कार्यकारी निर्देशक प्रसाईले सुनाए ।

घुस मागेको प्रमाण छ भन्ने प्रश्नमा उनले भने, ‘मैले रेकर्ड गरिनँ तर, म फेस टु फेस बसेर उनीसँग कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नु होला ?’ प्रसाईका अनुसार गिरीले घुस मागेको विषयमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई जानकारी गराएका थिए । ‘मैले भोलिपल्टै गएर भनेको थिएँ, तपाईंहरूले सम्झाउनुस् । अनि निवेदन लिन बोलाउनु भयो कि भएन भन्ने प्रश्नमा यो कुरा छाडौँ’ उनले भने । अहिलेसम्म कलेजमा आफ्नो दुई अर्ब ५५ करोड लगानी भएको भन्दै उनले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने दाबी गर्दै, नभए कलेजको सम्पत्ती राज्यले नै किन्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने घुस मागेको कुरा असत्य भएको दाबी गरेका छन् । बी एण्ड सी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोप लागेपछि गिरीले बुधबार नै पत्रकार सम्मेलन गरी खण्डन गरेका हुन् । उनले दुर्गा प्रसाईविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने बताए । घुस मागेको भन्ने कुरा विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप मात्रै भएको भन्दै उनले यसमा कुनै सत्यता नभएको र आफू १५ मंसिरमा द्वारिका होटल नै नगाएको बताए । उनले प्रसाईसँग भेट नभएको भन्दै आरोप पुष्टि गर्न चेतावनीसमेत दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया