Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगरिब पहिचान गर्न दैलो अभियान

गरिब पहिचान गर्न दैलो अभियान


कञ्चनपुर ।
सरकारले देशैभरको गरिबी पहिचान गर्ने निर्णयसँगै दोधारा चाँदनी नगरपालिकाले पनि स्थानीयहरूको घर दैलोमा पुगेर गरिबीको पहिचान गर्ने कार्यक्रम अघि बढाएको छ । नगरपालिकाले सरोकारवालासँग गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरणसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

नगरपालिकाले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको लागि छ जना गणक र एक जना सुपरिवेक्षक खटाएको छ । गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको भन्दै सरकारले गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गर्ने कार्य अघि बढाएको हो ।

गरिब घरपरिवार परिचयपत्रले लक्षित तथा विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षालगायतमा सहजता हुनुको साथै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण ब्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियतलगायतका कार्यक्रमहरू सञ्चालन गर्दा प्रभावकारिता हुने दोधारा चाँदनी नगरपालिकाका कार्यक्रम संयोजक भानदेव भट्टले बताए ।

गरिब पहिचान भइसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण गर्ने कार्यक्रमअनुरूप कार्यक्रम अघि बढाएको कार्यक्रम संयोजक भानदेव भट्टले बताएका छन् । एक जना गणकले एक महिनामा तीन सय ७५ घरधुरीमा विवरण संकलन गर्नुपर्ने उनले बताए । दोधारा चााँदनीको प्रत्येक घरधुरीमा गणकहरू पुगेर विवरण संकलन कार्यमा सबैले सहयोग पु-याइदिन आग्रह गरिएको छ । लगत संकलनमा पुगेका गणकहरूलाई सहजतापूर्वक सोधेका विवरणहरू उपलब्ध गराइदिन नगरपालिकाले आग्रह सकेत गरेको छ ।

गणकहरूले सोधेका यथार्थ विवरण उपलब्ध गराई गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण अभियानलाई सफल बनाउन सबैको दायित्व भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बताए । गरिब घरपरिवार परिचयपत्रका आधारमा कार्यक्रमहरू सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने नगरप्रमुख सुनारको भनाइ छ ।

घरपरिवार सर्वेक्षणमा झुटा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने विधिसहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन गर्ने वा प्रविष्ट गर्ने पदाधिकारीउपर कारबाही गर्ने बताइएको छ । नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरणका सुपरिवेक्षक दिलीप रोकायाले गरिब घरपरिवार पहिचान र परिचयपत्र विवरण संकलनमा घर–घरमा जाँदाका समस्याका बारेमा जानकारी गराएका थिए ।

पहिलो चरणमा वडा नं. १, २, ३, ६, ७ र १० मा र दोस्रो चरणमा वडा नं. ४, ५, ८ र ९ मा लगत संकलन गर्ने योजना बनाइएअनुरूप विभिन्न वडाहरूका घरदैलोमा पुगी लगत संकलन कार्य अघि बढाइरहेको उनले बताए । अन्तरक्रिया कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप्रमुख चिनी ओझा गिरी, वडाध्यक्ष, नगरकार्यपालिका पदाधिकारी, पत्रकार, गणकलगायत सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया