Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएक साता बजार बन्द गर्न दोलखा उद्योग वाणिज्य संघ र चेम्बर दोलखाको माग

एक साता बजार बन्द गर्न दोलखा उद्योग वाणिज्य संघ र चेम्बर दोलखाको माग


दोलखा ।
दोलखाको सदरमुकाम चरीकोटसहितका मुख्य पाँचवटा बजारका अत्यावश्यकबाहेकका पसल एक साता बन्द गर्न निजी क्षेत्रका दुई संस्थाले माग गरेका छन् । दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले जिल्लाको बजारक्षेत्र बन्द गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय जिल्लामा दोस्रो लहरको कोरोना भाइरसको जोखिम दैनिक वृद्धि भइरहेकाले भीडभाड हुने क्षेत्र कम्तीमा एक साता बन्द गर्नुपर्ने संघ र चेम्बरको माग छ । दुवै संस्थाको सोमबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण नियन्त्रणको लागि जिल्लाको चरीकोट बजार, जिरी बजार, सिंगटी बजार, मैनापोखरी बजार र माघादेउराली बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । त्यसैगरी बैठकले सबै उद्योगी व्यापारीको स्वाब परीक्षण गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।

त्यसैगरी सरकारले तयार गरेको कोभिड १९ को सुरक्षा मापदण्ड पालनाको लागि जनसचेतनामूलक प्रचारप्रसारको लागि आग्रह गर्ने निर्णय गरिएको चेम्बर अफ कमर्स दोलखाका महासचिव पाण्डव सिंह पाण्डेले जानकारी दिए । उनका अनुसार अति आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीलाई दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले गरेको सिफारिसका आधारमा यातायातको साधन सञ्चालन गर्न अनुमति दिन प्रशासनलाई अनुरोध गर्नेलगायतको निर्णय भएको भएको छ ।

निजी क्षेत्रको मागका बारेमा प्रमुख जिल्ला अधकारी वासुदेव घिमिरेले एक दुई दिनभित्र सबै स्थानीयतहमा रहेका उद्योगी व्यापारीको कोरोना परीक्षण गर्न प्रशासनले पहल गर्ने बताए । त्यसैगरी सुरुमा ५० जना उद्योगीहरू नमूना परीक्षण गरेर थप परीक्षण गर्दै लैजाने र जोखिम बढेको खण्डमा जिल्लाका बजारी क्षेत्रमा बन्द गर्ने निर्णय हुने उनको भनाइ थियो ।

दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले दोलखामा संक्रमण दर दिनप्रतिदिन थपिँदै गएकाले दोलखाका प्रवेश हुने दुईटा नाका खरिढुङ्गा र किर्नेटार नाका कडाइ गर्नुपर्ने बताए ।

त्यसैगरी जोखिमको यो समयमा बजारमा स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर र खाद्यान्नलगायतका उपभोग्य अत्यावश्यक वस्तुमा हुने कालोबजारीलाई रोक्न बजार अनुगमन गर्दै कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

दोलखामा दैनिक कोरोना भाइरसका सन्क्रमित वृद्धि हुँदै गएका छन् । जिल्लामा सोमबार मात्रै १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखामा हाल सक्रिय संक्रमितको संख्या २५ जना रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया