Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाउन्टरकै कर्मचारीबाट यात्रु ठगीमा

काउन्टरकै कर्मचारीबाट यात्रु ठगीमा


काठमाडौं ।
उपत्यकामा निषेधाज्ञा जारी भएपछि वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यकाबाहिरका जिल्लाहरू जाने यात्रुहरूलाई काउन्टरका कर्मचारीहरूले छ गुणा बढीसम्म भाडा लिई ठगी गर्नेगरेको पाइएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउन्टरका कर्मचारीहरू नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन् । यसले महामारीको अवस्थामा मौकाको फाइदा लिने समूह सक्रिय रहेको देखाउँछ । हालसम्म महाशाखाले २१ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

निषेधाज्ञा लागू भएपछि अत्यावश्यक कामविशेष र विदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

टोलीले त्यस्ता स्थान तथा काउन्टरहरूमा गई निगारनी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ गर्ने, गोप्यरूपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ । टोलीले आइतबार मात्रै चार जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको भट्टराईले जानकारी दिए । ‘हामी निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेका छौँ, तोकिएको भन्दा बढी भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौँ’, उनले भने ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ स्टाफहरू नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्नु सोचनीय विषय रहेको र यातायात व्यवसायीहरूको समेत यसतर्फ विशेष ध्यान जानुपर्ने उनको भनाइ छ । निषेधाज्ञा घोषणापछि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले आइतबार काठमाडौँको ढुंगेधाराबाट बझाङ जयपृथ्वी न.पा. ८ का वर्ष २४ को योगेन्द्र बोहोरा र वर्ष ३० का आकाश विष्टलाई पक्राउ गरेको हो । ना ८ ख ८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका हुन् ।

त्यसैगरी थाहा न.पा. ३ हेटौँडा घर भई बालाजु बस्ने वर्ष ३२ को अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ को सोमबहादुर गुरुङलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूले धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि ४५ सयसम्म लिनेगरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ । महाशाखाले अत्यावश्यक परी यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया