Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘आफन्त विस्तार प्रतियोगिता’का विजेता घोषणा

‘आफन्त विस्तार प्रतियोगिता’का विजेता घोषणा


काठमाडौं । नेपालीहरूले बनाएको व्यावसायिक सामाजिक सञ्जाल ‘आफन्त’ले गत दुई महिनादेखि सञ्चालन गरेको ‘आफन्त विस्तार प्रतियोगिता’को विजेताहरू घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गोलाप्रथाबाट पाँच जना विजेताको नाम सार्वजनिक गरिएको हो ।

विजेताहरूमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजित प्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् । भाग्यशाली विजेताहरूलाई जनही १०÷१० हजार रुपैयाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले बताए । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रवर्द्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल एक वर्षअगाडि सञ्चालनमा आएको हो ।

नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ वेबसाइट तथा एप दुवै माध्यममा उपलब्ध छ । आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरूले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरो मात्रै नभएर साना तथा लघु उद्यमीहरूका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको आफन्त नेपाल प्रालिका अध्यक्ष गिरीले बताए ।

कृषि, औद्योगिकलगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदानप्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनको भनाइ छ ।

विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैरनेपाली र नेपाली समुदायबीच अन्तर्क्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले बताए । बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’लाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया