Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने


काठमाडौं । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सम्झौता भएको छ । आइतबार महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरुबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी दिए । सम्झौतानुसार हस्तकलाको प्रवर्द्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ, जसका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ ।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्द्धनात्मक अभियानअनुसार नै दुवै संस्थाबीच सहकार्यका लागि सझौता भएको उपाध्यक्ष शाक्यले जानकारी दिए । महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायमान बनाउने कार्यमा सहकार्यले सघाउ पु-याउनेछ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँबराबरको हस्तकला सामग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुवै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनर्जीवन दिन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तीमा पनि आगामी एक वर्षसम्म नेपालमा विदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार विस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला सामग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया