Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘नेपाललाई आवश्यक खोप खरिदको सम्पूर्ण प्रबन्ध पूरा’

‘नेपाललाई आवश्यक खोप खरिदको सम्पूर्ण प्रबन्ध पूरा’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपाललाई आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप खरिदको सम्पूर्ण प्रबन्ध पूरा भइसकेको बताएका छन् । उनले अबको डेढ महिनामा एक करोड तीन लाख डोज खोप नेपाल आइपुग्ने भन्दै सबैलाई सजह रूपमा खोप उपलब्ध गराउने दाबी गरे । आगामी चैतसम्ममा पाँच करोड ५० लाख डोज खोप नेपाल आउने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा उनले खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए । आर्थिक क्रियाकलापमार्फत अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई सरकारले प्राथमिकताका साथ खोप उपलब्ध गराउने उनको भनाइ थियो । सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको र उद्योगी व्यवसायीलाई पनि प्राथमिकतामा राखेर अघि बढेको उनले बताए । यस्तै उनले खोप केन्द्रमा भीड नगर्न पनि आग्रह गरे । ‘बढी घनत्व भएको ठाउँका खोप केन्द्रमा अलि भीडभाड देखिएको छ’, उनले भने, ‘अहिले खोप केन्द्र बढाएका छौँ, सबैलाई खोप दिन्छौँ ।’ उनले अहिले चार हजार चार सय २२ खोपकेन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोपकेन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको बताए ।

कोभिड १९ को तेस्रो लहरको जोखिम बढेको भन्दै उनले त्यसविरुद्ध लड्न डेडिकेटेड अस्पताल र अक्सिजनको समेत व्यवस्थापन गर्न सरकार लागिरहेको बताए । ‘हामीसँग भएको क्षमताको अधिकतम प्रयोग गर्ने र चुस्त व्यवस्थापनमा काम गर्ने गरी सरकार अघि बढिरहेको छ’, उनले भने । भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीले फ्रन्टलाइनरको रूपमा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेको भन्दै देशभरका उद्यमीलाई खोप वितरणमा प्राथमिकता दिन आग्रह गरेका थिए । राजस्वमा करिब ७० प्रतिशतभन्दा धेरै योगदान गर्ने निजी क्षेत्रलाई समयमै खोप उपलब्ध गराई चलायमान बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा अग्रवालले जोड दिए ।

अध्यक्ष अग्रवालले कोभिडको तेस्रो लहरसँग जुध्न पर्याप्त स्वास्थ्य पूर्वाधारको तयारीमा जुट्नुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराए । उनले सरकार र निजी क्षेत्र मिलेर स्वास्थ्य पूर्वाधार विकासमा काम गर्नसक्ने पनि बताए । स्वास्थ्य मन्त्रालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे र हेमराज ढकाल तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया