Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआठ करोडको सिटीहल प्रयोगविहीन, हस्तान्तरण अझै अन्योलमा

आठ करोडको सिटीहल प्रयोगविहीन, हस्तान्तरण अझै अन्योलमा


धनबहादुर जप्रेल
कञ्चनपुर, माघ १७
महेन्द्रनगरमा निर्माण भएको सिटीहल निर्माण कार्य सम्पन्न भई सक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन नगर विकास समितिले निर्माण गरेको सिटीहल निर्माण कार्य सम्पन्न भई सकेको वषौँ भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । सरकारले तत्कालीन नगर विकास समितिलाई विघटन गरेपछि नयाँ कार्यसमिति गठन गर्न ढिलाइ गरेका कारण भवन हस्तान्तरण हुन नसकेको हो ।

हाल उक्त भवन जीर्ण अवस्थामा रहेको देखिन्छ । भवनको अगाडि लगाइएको सिसा फुटेको छ भने भवनको दिवालमा समेत चिरा परिसकेको छ । उक्त सिटीहल करिब नौ करोडको लागतमा निर्माण गरिएको हो । भवनको संरक्षण र रेखदेखका लागि भन्दै ठेकेदारले चौकीदारको व्यवस्था गरेको छ । उक्त भवनको अगाडि लगाइएको सिसा गत वैशाखमा आएको हावाले फुटाएको र उक्त सिसा मर्मत गर्ने जिम्मा ठेकेदारको नै हुने तत्कालीन नगर विकास समितिका नायब सुब्बा पुष्पराज भट्टले बताए ।

यस्तै तत्कालीन महेन्द्रनगर नगर विकास समिति सरकारले खारेज गरेपछि सम्पन्न भइसकेको महेन्द्रनगर सिटीहल अझै हस्तान्तरण हुनेमा अन्यौल देखिएको छ । नेपाल सरकारले गत पुस २३ गते गरेको निर्णयले नगर विकासको काम नगरपालिका तथा स्थानीय तहलाई दिने निर्णय गरेपछि नगर विकास अन्यौलमा परेको हो । हाल नगर विकास समिति संघीय आयोजना इकाइ डिभिजन कार्यालय मातहत रहेर हाजिर लगाउने काम भइरहेको तत्कालीन नगर विकास समितिका सूचना अधिकारी तथा नायब सुब्बा पुष्पराज भट्टले बताए । उनका अनुसार हाल कर्मचारीहरू नगर विकासको कामको जिम्मा नपाएर हाजिर मात्र लगाउने काम गरिरहेका छन् ।

यस्तै कञ्चनपुरको महेन्द्रनगर सिटीहलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि ठेकेदारको पैसा तिर्न नसकेकोले हस्तान्तरणको काम रोकिएको नगर विकासका नायब सुब्बा भट्टले बताए । उनका अनुसार हालसम्म सिटीहल निर्माणमा करिब साढे नौ करोड रूपैयाँ खर्च भइसकेको छ । तर, हाल ठेकेदारको पैसा तिर्न काम समिति नहुँदा रोकिएकाले हस्तान्तरणको काम पनि रोकिएको हो । तत्कालीन नगर विकास समिति विघटन भएपछि ऐनबमोजिम पालिकाको प्रमुख नगर विकासको संयोजकत्वमा आउने ऐनअनुसार नयाँ समिति आउन नसकेकाले उक्त पैसा भुक्तानी गर्न नसकिएको हो ।

उक्त सिटिहल हाल हस्तान्तरण हुन नसकेकाले कुनै पनि प्रयोजनमा ल्याउन सकिएको छैन । हाल प्रयोग र व्यवस्थापन नहुँदा प्रयोगमै नआई जीर्ण अवस्थामा रहेको स्थानीयहरू बताउँछन् । हाल नेपाल सरकारले नगर विकासको काम स्थानीय तहलाई दिने निर्णय गरेपछि नगर विकास समितिलाई विघटन गरेर संघीय आयोजना इकाइ डिभिजनद्वारा सञ्चालन भइरहेको संघीय आयोजना इकाइ प्रमुख सुरेश वाग्लेले बताए । ठेकेदारको बिल भुक्तानी गरेर भवनलाई हस्तान्तरण गर्नका लागि मन्त्रालयमा काम भइरहेको र अब चाँडै नै हस्तान्तरण गरिने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया