Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजुरेपीडितको नाममा संकलित रकम आठ वर्ष हुँदा पनि सरकारी खातामै

जुरेपीडितको नाममा संकलित रकम आठ वर्ष हुँदा पनि सरकारी खातामै


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा २०७१ सालमा आएको पहिरोपीडितहरुको नाममा संकलित रकम हालसम्म पनि सरकारी खातामा नै रोकिएर बसेको पाइएको छ । जुरेपीडितको नाममा संकलित दुई करोड २४ लाख रुपैयाँ आठ वर्षसम्म पनि सरकारी खातामा नै रोकिएको हो । उक्त पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए । संयोगले बाँचेकाहरु पनि अहिले दुःखको जीन्दगी बिताउन बाध्य छन् ।

जुरेपीडितलाई सरकारले भूूकम्पपीडितसरह मानेर आवास निमार्णको लागि तीन लाख दिएको थियो । सोही रकमले पीडितले सरकारी जग्गामा टहरो बनाएर बस्नुपरेको छ । पीडित भन्छन्, ‘हाम्रो लागि उठेको पैसा सरकारी खातामा छ, हामी सरकारी जग्गामा टहरो बनाएर बस्नुपरेको छ ।’ बाह्रबीसे नगरपालिका ५ राम्चेको ठूली तामाङ जुरे पहिरोमा परी घाइते भइन् । उनी अहिलेसम्म पनि राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । छ महिनाको उपचारपछि राम्चे फर्किएर उनले सरकारी जग्गामा टहरा बनाएर बस्दै आएकी छिन् । सरकारले पीडितहरुको व्यवस्थापनको लागि संकलन भएको रकम वितरण नगर्दा आफ्नो नामको जग्गामा घर बनाउन नसकेको उनी बताउँछिन् ।

यस्तै जुरे पहिरोमा लामोसांघुका सुवास तामाङले परिवारका सबै सदस्य गुमाए । त्यसयता उनी छिमेकीको आश्रयमा बसिरहेका छन् । सरकारले जुरे पहिरोपीडितलाई एकीकृत बस्ती बसाउने, जग्गा उपलब्ध गराउने आश्वासन दिए पनि काम भएको छैन । जुरे पहिरोका कारण एक सय ४५ जनाको मृत्यु भएको थियो भने सयभन्दा धेरै परिवार विस्थापित भएका थिए । जुरेपीडितहरु केही जग्गा किनेर वा राजधानी पसेर बसे पनि २५ परिवार भने अहिले पनि सरकारी जग्गामा टहरो हालेर बसेका छन् ।

सात वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका हुन् । उनीहरुको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको जनप्रतिनिधि बताउँछन् । तर लामो संघर्ष गर्दा पनि रकम नपाएकोमा पीडितहरु निराश र आक्रोसित छन् । यतिलामो समय हुँदा पनि वास्तविक पीडित को–को हुन् भन्ने स्थानीय तहले निक्र्यौल समेत गर्न सकेको छैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया