Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउत्तरी चुरे क्षेत्रमा काठ तस्करी बढ्दो

उत्तरी चुरे क्षेत्रमा काठ तस्करी बढ्दो


धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन ५
कञ्चनपुरको उत्तरी क्षेत्रमा चुरेमा पछिल्लो समयमा काठ चोरी निकासी दिनानुदिन बढ्दै गइरहेको छ । चुरे क्षेत्रमा विभिन्न नाकाबाट तस्करले काठ चोरी निकासी गरिरहेका छन् । तर, सरकारले हालसम्म तस्करीको काम रोक्न सकेको छैन । चोरी निकासीकै कारण कञ्चनपुरमा जंगल मासिने क्रम दिन दुगुना रात चौगुनाका दरले बढिरहेको स्थानीयको भनाइ छ । जिल्लाको भीमदत्त, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका चुरे क्षेत्रसँग जोडिएका छन् । यी स्थानीय तहमा रहेका सामुदायिक वन तथा चुरे क्षेत्रमा पछिल्लो समय तस्करले काठ चोरी निकासी गर्ने क्रम दिनानुदिन बढिरहेको छ ।

चुरे क्षेत्रमा पाइने सालको वन फँडानी गरेर चिरान गरी काठ चोरी निकासी हुनेगरेको छ । ‘तस्करले रातको समयमा काठ लैजान्छन्,’ भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय रमेश धानुकले भने, ‘काठ तस्करहरूले चुरे क्षेत्र तथा सामुदायिक वन क्षेत्रबाट चोरी गरेको काठ स्थानीय उपभोक्ता तथा भारतीय सीमावर्ती बजार पु-याउने गरेका छन् ।’

तस्करले चुरे क्षेत्रको अधिकांश सामुदायिक वनबाट काठ ओसारपसार गरेको भए पनि पनि वन कार्यालय र स्थानीय उपभोक्ताले नियन्त्रणमा लिने कार्यमामा भने तत्परता देखाउन सकेका छैनन् । चुरे वन सुरक्षाका लागि वनका कर्मचारी तथा सामुदायिक वनका कर्मचारीले चुरे क्षेत्रमा अनुगमन तथा निरीक्षण गरे पनि तस्करलाई नियन्त्रणमा लिन नसकेको स्थानीयको भनाइ छ । काठ चोरी निकासीसँगै गुजाराका लागि दाउरा बिक्रीमा रूख कटान भएको चुरेवासीले बताउँछन् । यही कारण चुरे क्षेत्र उजाडिन थालेको छ ।

दाउरेले एक दिन जंगलमा गएर दाउरा ल्याउने र भोलिपल्ट बिक्री गर्न बजार लैजाने गरेका छन् । यसमा अधिकांश सुकुम्वासी परिवार आश्रित हुनु र दाउराको बढी खपतले पनि वन क्षेत्र उजाडिएको एक थरीको भनाइ छ । दाउरेले सुकेको ढलापडाबाहेक राष्ट्रिय वनबाट हरियो रूख कटान गरी बिक्री गर्न थालेपछि अरू समस्या थपिएको छ । काठ तस्करले भीमदत्तको उत्तरी भेगको चुरे जंगल र सामुदायिक जंगलभित्रका सालका रुख सखाप पारेका छन् । तस्करले भीमदत्त नगरपालिका–९ ब्रम्हदेवको सिद्धनाथ सामुदायिक वन र चुरे क्षेत्रमा सालका रुख काट्न थालेका छन् । यहाँ जंगलभित्र साल रुख काटिएका ठुटा जताततै देखिन्छन् ।

स्थानीय बासिन्दा र उपभोक्ताले वन उपभोक्ता समिति र वन कर्मचारीकै मिलोमतोमा फँडानी भएको आरोपसमेत लगाइरहेका छन् । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हर्कबहादुर चन्दले आफ्नो नेतृत्वमा १८ माघमा मात्रै समिति चयन भएको बताउँदै अनुगमनका क्रममा चुरे क्षेत्रमा सालका रुख काटेको पाइएको बताउँछन् । ‘हामी केही दिनअघि मात्रै निर्वाचित भएका हौँ’ उनले भने ‘निर्वाचित भएको दोस्रो दिनदेखि अनुगमन गरिरहेका छौँ, रुख कटानी तथा तस्करी गर्ने व्यक्तिहरूको खोजी गरिरहेका छौँ ।’ सिद्धनाथ सामुदायिक वनका निवर्तमान अध्यक्ष मोतिसिंह महताले चुरे क्षेत्रबाट तस्करीले काठ चोरी निकासी गर्नेगरेको बताए ।

‘तस्करहरूले चुरे क्षेत्रबाट खल्ला गाउँ हुँदै भारत काठ तस्करी तथा निकासी गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘सामुदायिक वन तथा चुरेमा सालका रुख काटिनु दुःखद हो, यसको सत्यतथ्य छानबिन गरिनुपर्छ ।’ स्थानीय एवं उपभोक्ताहरूले भने समितिका पदाधिकारी, वन कर्मचारी र तस्करको मिलोमतोमा सालका रुख काटिएको बताउँछन् ।

वनका पदाधिकारी तथा कर्मचारीको बेवास्ताका कारण चुरे वन तथा सामुदायिक वन फँडानी भएको स्थानीय उपभोक्ता जयदेव जोशीले बताए । ‘वनभित्र चरम कटानी भएको छ’ उनले भने ‘रुख काटिँदा र तस्करी हुँदासमेत न कुनै पक्राउ परे, न तस्करी रोकियो यस क्षेत्रमा पटक/पटक काठ कटानी हुन्छ, तस्करी भइरहेको छ,’ उनले भने, ‘तैपनि जिम्मेवार निकायबाट रोक्न प्रयास नहुनुले उनीहरूको समेत मिलोमतो रहेको बुझाइ हामी स्थानीयको छ ।’

चुरे क्षेत्रमा हुने काठ तस्करी रोक्नका लागि समय–समयमा अनुगमन तथा निरीक्षण गर्ने गरेको ब्रम्हदेव सवडिभिजन वन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत जीवन भण्डारीले बताए । ‘चुरे क्षेत्रमा भएको काठ तस्करीको विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘काठ तस्करीमा वन कर्मचारीको कुनै मिलेमतो छैन ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया