Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअसारदेखि दोलखाका वडामै राष्ट्रिय परिचयपत्र

असारदेखि दोलखाका वडामै राष्ट्रिय परिचयपत्र


दोलखा । जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले असारदेखि जिल्लाका वडापालिकाबाटै सहजरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। ग्रामीण बस्तीका नागरिकलाई प्रशासनमा आएर राष्ट्रिय परिचयपत्र लिन झन्झटिलो र धेरै खर्च हुने तथा भिडभाड बढ्दै गएको बन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चरीकोटमा सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको ७४ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न तयारी गरिरहेकाले असारदेखि परिचयपत्र बनाउन बाँकी रहेका सबैले वडाबाटै लिने व्यवस्थाको तयारी भइरहेको जानकारी दिएको हो ।

असारदेखि असोजसम्म वडाबाटै अभियानको रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक ललित कुमार बस्नेतले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा असारदेखि वडास्तरबाटै वितरण गरी सबैलाई राष्ट्रिय परिचयपत्रको पहुँचमा ल्याउन लागिएको बस्नेतले बताए । त्यसका लागि आवश्यक जनशक्ति, सामग्री र उपकरणको व्यवस्थापन गर्ने कार्य सुरु भएको उनले बताए । परिचयपत्रको वितरणको लागि अब प्रत्येक वडामा एउटा स्टेसन रहनेछ ।

परिचयपत्र बनाउनेहरूको संख्याको आधारमा आवश्यकता देखिएमा स्टेसन थपघट हुने उनले बताए । नागरिकको प्रणाम र पहिचान दिने एक झोला कागजपत्रलाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्रको अवधारणा र महत्व भएको उल्लेख गर्दै उनले १६ वर्षदेखि माथिका सबै नागरिकले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने जानकारी दिए। यसैको आधारमा सरकारीसहित विभिन्न सेवा प्राप्त गर्न सकिने भएकोले यसको महत्व सबैलाई जानकारी हुनपर्ने निर्देशक बस्नेतको भनाइ रहेको थियो । उमेर पुगेका नागरिकले सक्कल नागरिकता, बसाइँ सरी आएको भए बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपी, विवाह गरी आएको भए विवाहदर्ताको प्रमाणपत्र प्रतिलिपी साथमा ल्याई राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ ।

परिचयपत्रको लागि विवरण दर्ता गर्दा गल्ती गर्न नहुने, पछि परिचयपत्रमा गल्ती भए पाँच सय रूपैयाँ तिरेर सच्याउन सकिनेछ । जिल्लामा वडास्तरबाट परिचयपत्र वितरणको काम सुरु गर्न लागिएकोले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालगायतले समन्वय गर्नुपर्ने उनले बताए राष्ट्रिय परिचयपत्र बनाउनकै लागि दुर्गम र ग्रामीण क्षेत्रबाट समय र रकम खर्च गरी चरीकोट आउनुपर्ने बाध्यता थियो । तर अब भने वडाबाटै परिचयपत्र वितरण सुरु हुने भएकोले समयको बचत हुने भन्दै नागरिकहरू खुशी भएका छन् । त्यस्तै जिल्लाबाहिर रहेका दोलखाका नागरिकहरूले भने आफू बसेको ठाउँबाटै परिचयपत्र लिन सक्नेछन् ।

यसअघि राष्ट्रिय परिचयपत्र लिनको लागि जिल्ला प्रशासनमा टोकन लिएर दिनहुँ लाइन बस्नुपर्ने बाध्यता रहेको थियो। सरकारी सेवा सुविधा लिनको परिचयपत्र आवश्यक गर्ने सरकारको तयारीअनुरूप पछिल्लो समय परिचयपत्र वितरण प्रणाली सहज बनाइँदै लगिएको छ । जसले गर्दा स्थानीयहरू केन्द्रमा धाउनुपर्ने वा लामो लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त हुँदै गएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया