Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न

१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न


काठमाडौं । बचत तथा ऋण सहकारी संस्था (साकोस)मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पलगायतका १२ बुँदे साझा घोषणापत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न भएको छ ।

‘दीगो एवम् एकीकृत सञ्जालका लागि नवीनतम साझा प्रविधि’ मूलभाव र संकल्पका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले काठमाडौंमा आयोजना गरेको दुईदिने चौथो साकोस शिखर गोष्ठी २०७९ सोमबार सम्पन्न भएको हो । गोष्ठीमा पाँचवटा सामूहिक र चारवटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब सात सय ५० जना सहकारीकर्मीहरुको उपस्थिति थियो ।

सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तर्सहकारी कारोबार, सहकारी प्रवर्द्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामूहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन अनुसार १० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।

गोष्ठीको समापनमा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गरे । जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिक दलहरुले समेत प्रतिवद्धता जनाएको समेत उनले बताए । शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया