Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नक्कली’ डाक्टर प्रकरण: पहिले सफाइ, यसपालि सीआईबी कति ढुक्क ?

‘नक्कली’ डाक्टर प्रकरण: पहिले सफाइ, यसपालि सीआईबी कति ढुक्क ?


काठमाडौं,नेपाली कांग्रेसका सांसद डा सुनील शर्मालाई प्रहरीले पक्राउ गरेपछि सात वर्षअघि यस्तै प्रकृतिको प्रहरी कारबाही पुनः चर्चामा आएको छ।

सांसद शर्मासहित शुक्रवार अपराह्णसम्म आठ जनालाई गिरफ्तार गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

तर सांसद शर्माको हकमा काठमाण्डू जिल्ला अदालतले शुक्रवार साँझ “हाललाई तारेखमा राखेर मुद्दा अनुसन्धान गर्न आदेश दिएको” अदालतका प्रवक्ता दीपक दाहालले बीबीसीलाई बताएका छन्।

यसअघि २०७२ देखि २०७३ सालबीचको करिब छ महिनामा झन्डै ६० जना डाक्टरहरूलाई नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, “त्यसकै निरन्तरता पनि हो, नयाँ उजुरीका आधारमा भएको छानबिनका आधारमा पनि गरिएको छ।”

विगतको ‘विफल कारबाही’
उस बेला अदालतमा मुद्दा चलाइएका अधिकांश डाक्टरहरूमध्ये धेरै धरौटीमा त केही साधारण तारेखमा रिहा भएका थिए। पछि अधिकांशले सफाइ नै पाए।

‘नक्कली डाक्टर’ प्रकरणले चर्चित भए पनि त्यस बेला ठगी गरेको कसुरमा मुद्दा चलाइएको थियो।

काठमाण्डू जिल्ला सरकारी वकिल कार्यालयमा प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अघिल्लो प्रकरणबारे आफूलाई जानकारी नभएको बताए।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भन्छन्, “नक्कली प्रमाणपत्र लिएको आरोपमा अनुसन्धान गरिएकोमा पछि ठगीको मुद्दा चलाउँदा, त्यसबापतको रकम कसलाई भराउने भन्ने व्यक्ति नै नभएपछि मुद्दा ठहर नभएको देखिन्छ।”

जानकारहरूका अनुसार उस बेला कतिपयले भारतबाट पास गरेको भनी पेस गरेको आईएस्सीको प्रमाणपत्र नक्कली भएको त कतिपयले कम नम्बर पाएकोमा त्यसलाई बढी देखाउनेगरी सच्च्याएको भेटिएको थियो।

उस बेला पक्राउ परेका कतिपयका मुद्दामा राजनीतिक निकै चासो देखिएको थियो। सरकारी वकिलको कार्यालयमा त्यसबारे चासो राखेर नेताहरूले फोन गर्ने गरेको समाचारहरू पनि आएका थिए।
तर कतिपयमा फितलो अनुसन्धानले भारतबाट उत्तीर्ण गरेका वास्तविक चिकित्सकहरू मर्कामा पर्ने चिन्ता पनि देखा परेको थियो।

तात्कालिक स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेती विगतको कुरा सम्झिँदै भन्छन्, “धेरै घटनाक्रम त बिर्सिसकेँ। तर डाक्टरहरूको एउटा समूह आएर छानबिनमा हडबड गरेर सक्कली प्रमाणपत्र पनि राम्ररी हेरिदिएको छैन भन्ने गुनासो गरेको सम्झना छ।”

नेपाल चिकित्सक सङ्घले पनि त्यस बेला पर्याप्त छानबिन नभएको भन्दै आशङ्का प्रकट गरेको थियो।

यस पटकको अनुसन्धान कति पर्याप्त?
नेपाल मेडिकल काउन्सिलको परीक्षामा बारम्बार धेरै डाक्टर अनुत्तीर्ण हुन थालेपछि नक्कली प्रमाणपत्रको आशङ्का सतहमा आएको थियो।

त्यसपछि काउन्सिल र सीआईबीले अनुसन्धान गरेका हुन्। उनीहरूले उस बेलाको उच्च माध्यमिक शिक्षा परिषद्को सहयोगमा अनुसन्धान गरेका थिए।

कतिपयले नक्कली प्रमाण पत्र वा किर्तेमा मुद्दा नचलाएर ठगीको मुद्दा चलाउनुमा सरकारी वकिल कार्यालयमा चलखेल भएको पनि बताउने गर्छन्।
तर त्यतिबेला सीआईबीमा रहेका केही प्रहरी अधिकृतहरूसँग बीबीसीले सम्पर्क गर्दा उनीहरू त्यसबारे खुलेनन्।

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार यस पटक प्रहरीले किर्ते कसुरमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ।

अघिल्लो पटक जस्तो विफल नहुने बताउँदै उनले भने, “हामी योपालि विश्वस्त छौँ।” उनका अनुसार सम्बन्धित व्यक्तिहरूले पास गरेको भनेको परीक्षा बोर्डमा विवरण फेला नपरेको कुरा राष्ट्रिय परीक्षा बोर्डले लिखित रूपमा पठाएको छ।

प्रवक्ता अधिकारीले भने, “परीक्षा बोर्डले हामीलाई लिखित रूपमा दिएको छ, डाक्टरहरूले पास गरेको भनेको भारतको परीक्षा बोर्डमा उहाँहरूको विवरण नभेटिएको उल्लेख छ।”

भारतीय परीक्षा बोर्डबाट आईएस्सी पास गरेको भनिएको प्रमाणपत्रबारे छानबिन भएको हो।तर भारतको परीक्षा बोर्डसँग कस्तो सहकार्य भएको र उसले कुन रूपमा विवरण फेला नपरेको जानकारी गराएको हो भन्नेबारे बुझ्ने प्रयास गर्दा बोर्डका अध्यक्ष महाश्रम शर्मासँग सम्पर्क हुन सकेन। उनको सचिवालय र अन्य अधिकारीहरूले त्यसबारे जानकारी नभएको बताए।(बीबीसी)


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया