गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्याएर बिक्री गर्ने उनको दैनिकी नै बनेको छ ।
उनले मौसमअनुसार तरकारी खेती गरेकी छन् । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनीसँग । “आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो”, कार्कीले भनिन, “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।”
कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी छन् । बेनी बजारमा उनलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाइन । प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पु¥याउने कार्काीले दैनिक एक डोका तरकारी बिक्री गरेर रू दुई हजारदेखि रू तीन हजारसम्म कमाउने गरेको बताइन । उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रू दुई लाख बढी कमाइ भएको छ ।
मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताइन । “दैनिक थोरै भनेको रू दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर रू दुई लाख ६५ हजार कमाएछु”, उनले भनिन ।
तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाएकी छन् । कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्छन । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुन ।
कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आएका छन् । मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि । ३८ वर्षिया सापकोटाको दैनिक रू सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन ।
“हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रू एक हजार पाँच सयसम्म आम्दानी गरेको छु”, उनले भनिन ।
कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रू एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् ।
साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताए । बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताए।
“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसारव्यापार हो भन्ने बुझेको छु । अब सकुञ्जेल यही काम गर्ने हो”, अप्सराले भन्नुभयो । उनका अनुसार बेनी बजारमा प्रत्येक बिहान अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने गर्दछन् ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया