Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतशेखरलाई अचेट्न खोज्दा राष्ट्रपति पौडेलको नैतिक स्खलन

शेखरलाई अचेट्न खोज्दा राष्ट्रपति पौडेलको नैतिक स्खलन


आफ्नो उपचारखर्च व्यहोर्ने सम्बन्धमा कुरा फेरेर नैतिकरूपमा स्खलित भएका राष्ट्रपति रामचन्द्र पौडेल कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्ने क्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई दबाब दिएपछि दोस्रो पटक पनि नैतिकरुपमा स्खलित भएका छन् । माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग सहमति गरेपछि नेता कोइरालाले विद्रोह गरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेपछि राष्ट्रपति पौडेलले उम्मेदवारी फिर्ता गराउन डा. कोइरालालाई दबाब दिएका थिए । संगठितरूपमा शेखरलाई अचेट्ने र निस्तेज बनाउने प्रयास सफल भएन, बरु अचेट्न खोज्नेहरू नै स्खलित भए । कार्यकारी राष्ट्रपतिको छनक आउने गरी अस्वाभाविकरूपमा सल्लाहकारहरूको गलगाँडा भिरेर तिनकै सल्लाहअनुसार चल्दा राष्ट्रपति पौडेल यसरी नैतिकरूपमा स्खलित हुनुपरेको हो । तर, यो कुरा मान्न उनी तयार देखिँदैनन् । अघिल्लो साता मात्र उनले एक प्रसङ्गमा राजा मान्ने बानी परेकाले जनताले राष्ट्रपति पौडेलको भूमिका पचाउन नसकेको भनी उल्टै जनतालाई आरोप  लगाएका थिए ।

राष्ट्रपति पौडेलको अहिलेको व्यवहारले उनले आफूलाई संवैधानिक राष्ट्रपति भन्ने बिर्सिएको देखाएको छ । यो कुरा आफ्नै ठाउँमा छ । कांग्रेसको नेतृत्वले गठबन्धनमा निर्णय कार्यान्वयन गराउन उनले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने कार्कीलाई दाबी फिर्ता लिन दबाब दिन डा. कोइरालालाई फोन गरेर दबाब दिनु सर्वथा उचित र न्यायसंगत होइन, नैतिक त हँुदै होइन । प्रजातान्त्रिक मूल्य, मान्यता र परम्पराअनुकूल पनि होइन । फुत्किएको राष्ट्रपति पद सत्ता गठबन्धनको बलमा बल्लबल्ल प्राप्त गरेकाले त्यसको गुन तिर्न उनले सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्न कोइरालालाई दबाब दिएका होलान् । तर, कोइरालाले उनले दिएको निर्देशन मानेनन्, ठाडै अस्वीकार गरिदिए । राष्ट्रपतिको निर्देशन मुखमुखै अस्वीकार गरिदिएपछि कोइरालालाई फकाउन कांग्रेस पदाधिकारीहरूको बैठक बोलाइयो । त्यसअघि सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे । सँगै बसेर दुवैले पालैपालो डा. कोइरालालाई फोन गरेर कोशीमा कार्कीको दाबी फिर्ता गराउन आग्रह गरे, उनले त्यो आग्रह ठाडै अस्वीकार गरिदिए ।

त्यसपछि देउवा निवासमा आकस्मिक बैठक बस्यो । तर, त्यसले पनि शेखर कोइरालालाई मनाउन सकेनन् । डा. शेखरको त्यो अडानले कांग्रेसजनमा एउटा उत्साह जगाए पनि कतै पछि हट्ने हुन् कि भन्ने मनमा शंका पनि थियो नै । ‘अब शेखर सकियो’ भन्नेको संख्या कम थिएन । त्यस्तै विश्लेषणमा थिए कांग्रेसका उरन्ठ्याउला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि । उनीहरू दुवैले यही मौका छोपेर शेखरलाई किनारा लगाउँदै मनको लड्डु घ्यूसँग खुबै खाए । त्यसो त गगनहरू शेखरलाई सघाउन उनको समूहमा पसेका थिएनन् । शेखरलाई घेराबन्दी गरेर चलमलाउन नदिन उनीहरू त्यहाँ पसेका थिए, बसेका थिए भन्ने कुरा गत महाधिवेशनदेखि अहिलेसम्मका गतिविधि नियाल्दा प्रस्टै देखिन्छ । महाधिवेशनमा आधाआधी मतान्तर हुनु पहिलो आशंका थियो भने शेखरलाई संसदीय दलमा उठ्न रोक्नु दोस्रो घटना थियो । जित्ने अवस्थामा अर्जुन नरसिंह केसीलाई संघीय संसद्को सभामुख दिनुपर्ने र हार्ने देखिएपछि उनले टिकट नलिएर अर्कैलाई बलीको बोको बनाउनु आशंका गर्ने अर्को ठाउँ थियो । यति हुँदाहुँदै पनि शेखर समूहको अनुपम फुडल्याण्डमा भएको भेलामा गगनले मुखै फोरेर आफूलाई समूहको नेतृत्व गर्ने अवसर दिनुपर्ने प्रस्ताव राख्नुले घेराबन्दीका सबै कुरा खुल्दै गएका थिए । तर, शेखर डगमगएका थिएनन् । उनी फुकीफुकी चल्दै थिए । कुरो बुझेका थिए । तर, नबुझेजस्तो गरेर बसेका थिए । उनी यस्तो अवस्थामा किन पनि आएको थियो भने गत महाधिवेशनमा आफ्नै भाइ शशांक कोइराला र बहिनी सुजता कोइरालाले पनि सहयोग गरेका थिएनन् ।

शेखरले सभापति पदको उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा जान निस्कन लागेका डा. शशांकलाई दिल्लीबाट आएका पाहुना बरुणले रोकेका थिए । बहिनी प्रकाशमान सिंहको क्याम्पमा पुगेकी थिइन् । शेखरले सभापतिमा उम्मेदवारी दिने घोषणापछि हालका राष्ट्रपति तर त्यतिबेलाका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी नदिने घोषणामात्र गरेनन् कि राजनीतिबाटै अवकाश लिने घोषणा पनि गरेका थिए । तर, उनको त्यो घोषणा धेरै लामो समय टिकेन । त्यसो त महाधिवेशनभन्दा दुई वर्षअघिदेखि नै रामचन्द्र पौडेल डा. शेखर कोइरालासँग राम्रोसँग बोल्नसमेत छाडिसकेका थिए । शेखर अघि बढेको उनले पटक्कै रुचाएका थिएनन् । शेखर बोल्दा पनि मुन्टो बटार्न थालेका थिए । सुनेको नसुन्यै गरेर पचाइदिन्थे । रामचन्द्रले दिएको त्यो पीडाको कथा यस प्रतिनिधिले पनि सुन्ने मौका पाएको थियो । कसैलाई नेता नमान्न सकिन्छ तर, राजनीतिमै आउन रोक्न पाइँदैन । त्यतिबेलाका वरिष्ठ नेता पौडेलले शेखरको सन्दर्भमा त्यही भूमिकाको अगुवाइ गरेका थिए । पौडेलको जालोमा परेपछि शेखरले त्यतिबेला प्रकाशमान र विमलेन्द्र निधिको साथ खोजेका थिए तर उनलाई त्यो पनि मिलेन । शेखरलाई अघि बढ्न नदिन घेराबन्दी मात्र थिएन, राजनीतिमा अघि बढे ठूलदाई प्रकाश कोइरालाकै हालत बनाइदिने अप्रत्यक्ष धम्की नै थियो । उनी लगभग एक्लिएका थिए । त्यो मौका छोपेर गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसी शेखरको क्याम्पमा छिरेका थिए । उनीहरूले मौका हेरेर शेखरलाई साथ दिन पुगेका थिए । हुन त उनीहरू आफैँ गएका हुन् । तर, निर्देशितरूपमा त्यहाँ पुगेका हुन् भन्नेहरू पनि कांग्रेसमा कम छैनन् । अहिलेका घटनाक्रमले पनि त्यही मान्यतालाई पुष्टि गर्दै गएको छ ।

शेखरले तेह्रौँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी नदिँदा अन्तर्राष्ट्रिय समुदायको विश्वास गुमेको थियो । त्यसैको परिणामका रूपमा संसदीय निर्वाचनमा भएको उनको पराजयलाई लिइएको छ । उनी मोरङमा एमालेका लालबाबु पण्डितसँग थोरै मतान्तरले पराजित भए, जुन उनीहरूले कल्पना पनि गरेका थिएनन् । काखमा राखेर सेरेजस्तो गरिएको थियो । उनलाई कांग्रेस र सरकारको नेतृत्वमा पुग्न जसरी भए पनि रोक्ने एउटा ‘डिजाइन’ बनेको थियो । त्यसैको लागि उनलाई कांग्रेसकै मान्छेहरू लगाएर तर्साउने र घेराबन्दी गर्ने प्रक्रिया एकैसाथ अघि बढेको थियो र पछिल्लो समयमा उनी चलमलाउनै नसक्ने अवस्थामा पुगेका थिए । उता भारतीय नेतृत्वसँगको असहमतिका कारण प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन् । उनलाई दोस्रो मरिचमान बनाउने प्रयास चलिरहेको छ । उनलाई सबैतिरबाट एक्ल्याउने प्रयास जारी छ । प्रधानमन्त्री प्रचण्डले गत जेठ १७ गतेदेखि भारत भ्रमण गरेका थिए । त्यसबेला उनले त्यहाँ कस्तो समझदारी वा सहमति गरेर आएका थिए, त्यसलाई अहिलेसम्म सार्वजनिक गरेका छैनन् । न त भारतले नै सार्वजनिक गरेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउन २० गते प्रधानमन्त्री प्रचण्डलाई आफैँ फोन गरेर ताकेता गरेका थिए भने भदौ १८ गते विशेष दूत विवेक रोयलाई पठाएर ताकेता गरेका थिए । प्रधानमन्त्री प्रचण्डले चाहिँ समाजवादी मोर्चा खोलेर उक्त समझदारी कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । ठीक यो बेला पेलिएका र पाखा पारिएका यी दुई शक्तिबीच मित्रमिलाप भएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्ने सन्दर्भमा यी दुईको मिलनको एउटै घटनाले राष्ट्रपति पौडेलदेखि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मासम्मका नेतालाई एकैसाथ किनारा लगाइदिएको छ । यो घटनाबाट तर्सिएर महामन्त्री विश्वप्रकाश शर्माले फुइँके टिप्पणी गरेका छन् । थापाचाहिँ सायद मुर्छित छन् । ठेक्कापट्टा अलपत्र पारे पनि नेता रिझाएर कांग्रेसको टिकटमा सांसद बनेका कान्छाराम तामाङले चाहिँ शेखरले कोशीको परिणाम एक महिनापछि व्यहोर्ने अर्काको बोली बोलेका छन् ।

सरकार गठन गर्न आवश्यक संख्या पु¥याएर हस्ताक्षरसहित पेस गरेका कार्कीलाई प्रदेशप्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्न आलटाल गर्दासम्म सत्ता गठबन्धन उनको विरोधमा थियो । तर, शुक्रबार बिहान सांसदहरूले लाइन लागेर कार्कीको पक्षमा सनाखत गरेपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले शेखर कोइरालालाई बालुवाटारमा बोलाएर हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पस्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ भनेर सहमति गरेका छन् । त्यसैले उनीहरूको लाज छोपिएको छ र भोलिपल्ट आइतबार चितवन पुगेर गठबन्धन भत्काउने षड्यन्त्र विफल पारेको दाबी गरेका छन् । शेखरले आफूहरूमाथिको सम्भावित कारबाही रोक्न सुझबुझसहित सहमति गरेका होलान् । ओलीसँग सम्बन्धविच्छेद गर्नका लागि पक्कै होइन । उक्त सहमतिपछि प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मुख्यमन्त्री कार्की गठबन्धनकै मुख्यमन्त्री भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

डा. शेखरसँग बालुवाटारमा गरिएको त्यो सम्झौताचाहिँ उनीहरूको लाज छोप्न गरिएको चिर्कटो मात्र हो भन्दा फरक नपर्ला । शेखरको अवस्था त्योभन्दा निकै पर पुगिसकेको छ । कांग्रेसमा अवहेलित हुने पराकाष्ठा नाघेपछि अनाडीमा गरिएको निर्णायक बज्रप्रहार हो, ओलीसँगको सहमति । अब नचाहँदानचाहँदै पनि पार्टीभित्रका हेपिएका, चेपिएका, पेलिएका, नेता तथा कार्यकर्ता उनीतिर आकर्षित हुन कसैले रोक्न सक्दैन । यो एउटा घटनाले देशीविदेशी सबैलाई समुचित जवाफ दिएको छ । तीमध्ये पनि सबैभन्दा नैतिकरूपमा स्खलित भएर उदाङ्गिएका छन् राष्ट्रपति पौडेल । जुन काम उनले पदीय गरिमा जोगाउनकै लागि भए पनि गर्न नहुने थियो, गरे । तर, ठीक गरेनन् । शेखर कोइरालाले आफूविरुद्धको घेराबन्दी एकै सटमा तोडेर बाहिर निस्किएका छन् । हिजोसम्म उनका आसेपासे आज विगतका बनेका छन् । उनीहरू आफ्नै अज्ञानतावश छुटेका छन् । फेरि फर्कने उपाय पनि खोज्लान् तर अब विश्वासको खडेरीचाहिँ परिसकेको छ । अब उनले सुरु गरेको नयाँ समीकरण राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा समानन्तररूपमा क्रियाशील देखिन्छ । त्यसले एउटा राष्ट्रिय खतरा उत्पन्न गर्न पनि सक्दछ । कसले बढी दिने भन्ने होडबाजी सुरु भयो भने राष्ट्रियतालाई नै दखल पु¥याउन पनि सक्दछ । तर, अहिले नै चाहिँ त्यो खतरा देखिँदैन, मात्र किनारा लागेको पक्ष पनि मूलबाटोमा फर्किएको छ । शेखरको एउटा कदम रोक्न गरेको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले आफैँ बोली फेरिसकेका छन् । अब शेखरको मुख्यमन्त्री कार्की पनि गठबन्धनकै मुख्यमन्त्री हुन् अरे । गगन विश्वप्रकाशहरू पनि फर्किएलान् तर राष्ट्रपति पौडेल कसरी कता फर्किएलान् ? त्यो ठाँउ त देखिँदैन । फर्कन नमिल्ने अक्करमा जसको सल्लाहमा गएको भए पनि उनले ठीक गरेनन्, अन्यथा नैतिकरूपमा यसरी स्खलित हुनुपर्ने थिएन ।


क्याटेगोरी : समाचार, फरक मत

तपाईको प्रतिक्रिया