Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालबाट बाहिरिँदै आजियाटा

नेपालबाट बाहिरिँदै आजियाटा


काठमाडौं । मलेसियाको आजियाटा समूह नेपालको एनसेलबाट बाहिरिने भएको छ । नेपालमा व्यावसायिक चुनौतीहरु बढेको भन्दै आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेको हो ।

आजियाटाले बुधबार विज्ञप्ति जारी गरेर एनसेलबाट बाहिरिने जनाएको छ । त्यसका लागि आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको छ । एनसेलमा आजियाटाको सेयर स्वामित्व ८० प्रतिशत छ । आजियाटा समूह २०७२ चैतमा एनसेल प्रवेश गरेको थियो । आजियाटाले एनसेलको ८० प्रतिशत सेयर टेलियासोनेराबाट किनेको थियो । बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुने व्यवस्था छ । ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका कम्पनी २५ वर्षपछि पूर्णरुपमा सरकारी स्वामित्वमा आउने व्यवस्थाअनुसार अबको छ वर्षपछि एनसेल सरकारी स्वामित्वमा पुग्नेछ । आफ्नो सबै सम्पत्ति सरकारको स्वामित्वमा पुग्ने भएपछि आजियाटाले अहिले नै सेयर बेचेर बाहिरिन लागेको देखिन्छ । तर, आजियाटाले नेपालमा व्यावसायिक वातावरण नरहेको भन्दै दोष लगाएको छ ।

पछिल्लो केही वर्ष एनसेलको आम्दानी घट्दै गएको देखिन्छ । एनसेल आजियाटाले सन् २०२३को नौ महिनामा २७ अर्ब १८ करोड रुपैयाँको व्यापार गरेको छ । यो व्यापार गतवर्षको तुलनामा नौ दशमलव १६ प्रतिशत कम हो । गतवर्ष यो अवधिमा एनसेलको व्यापार करिब ३० अर्ब रुपैयाँबराबर थियो ।

सन् २०२२ मा एनसेलले ११ करोड ७० लाख मलेसियन रिंगिट नाफा कमाएकामा सन् २०२३मा घटेर तीन करोड ४० लाख रिंगिटमा झरेको आजियाटाको विवरणमा देखिन्छ । आम्दानी प्रभावित हुँदै गएको र एनसेलको कारण आफ्नो समग्र पोर्टफोलियो प्रभावित हुने देखिएपछि आजियाटा एनसेलबाट बाहिरिन लागेको देखिन्छ ।

आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच सञ्चालक समितिले कम्पनी बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको प्रतिक्रिया दिएका छन् । एनसेल कर, नवीकरणलगायतका विवादमा मुछिँदै आएको छ ।

आजियाटा खरिदकर्ता खोजेरै बाहिरिन खोजेको देखिन्छ । स्रोतका अनुसार आजियाटा समूहको सेयर सुनिभेरा क्यापिटल भेन्चरले नै किन्ने समझदारी भएको छ । सुनिभेरा क्यापिटल भेन्चर एनसेलका लागि आजियाटा समूहको स्थानीय साझेदार हो । सुनिभेरामा सतिशलाल आचार्य र उनका भाइ सचिनलाल आचार्यको स्वामित्व छ ।

सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५मा मेरो मोबाइलमार्फत दूरसञ्चार सेवा सुरु गरेको थियो । सन् २००८ मा स्विडिस दुरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किनेको थियो । त्यसपछि सन् २०१०मा स्पाइस नेपालको नाम फेरेर एनसेल राखेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया