Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुरधामबाट के के कोसेली जाँदैछ अयोध्या

जनकपुरधामबाट के के कोसेली जाँदैछ अयोध्या


काठमाडौं,त्रेतायुगाकालीन भगवान् सीतारामको सम्बन्धलाई जीवन्त बनाउन भन्दै नेपालको जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठाका लागि सुनचाँदी सहितका गहना र कोसेली पठाउन लागेको छ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवको नेतृत्वमा जान लागेको भार(कोसेली)का लागि आभूषण लगायतका सामग्री जुटाउने काम धमाधम भइरहेको छ।

मिथिलाको परम्परागत कोसेलीहरू सहितको २ सय ५१ वटा भार औपचारिक रूपमा लिएर जाने तयारी भएको दासले बीबीसीलाई बताए।

त्यसबाहेक श्रद्धालुहरूको तर्फबाट त्योभन्दा धेरै उपहार जाने अपेक्षा गरिएको उनले बताए।
नजिकको साँस्कृतिक सम्बन्ध
भारमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरीया, फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो लगायतका सामग्री रहने बताइएको छ।

जनकपुरधामबाट पुस १९ गते उक्त कोसेली बोकेर टोली अयोध्याका लागि प्रस्थान गर्ने बताइएको छ। हुलाकी राजमार्गबाट जाने भार सहितका श्रद्धालुहरूको पहिलो विश्रामस्थल वीरगन्ज हुनेछ।

२० गते राति अयोध्या पुग्ने र २१ गते शनिवार भार राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिने रोशन दासले जनाए। उक्त टोलीमा सन्तमहन्तहरूको सहभागिता रहने उनले बताए।
नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई बिहीवार नै अयोध्या पठाइएको छ।

धार्मिक सङ्घ संस्थाहरूले सङ्कलन गरेको पवित्र जलले मन्दिरमा प्राणप्रतिष्ठा हुने बेला अभिषेक गरिने बताइएको छ।
मिथिलामा छोरीज्वाइँले नयाँ घर निर्माणगरी गृह प्रवेश गर्दा माइतीबाट कोसेली जाने चलन रहिआएको छ।

ससुरालीबाट आएका वस्त्र लगाएर नवगृहमा प्रवेश गर्ने चलनलाई निरन्तरता दिन लागिएको आचार्य पण्डित सन्तोष पाण्डेयले बताए।

हरेक वर्ष सीताराम विवाह महोत्सवमा अयोध्याबाट जन्त आउने गरेको छ। भगवान् सीता र रामबीच विवाह भएको सम्झना गर्दै दुवै देशका श्रद्धालुहरूले विभिन्न उत्सवहरूमा सहभागिता जनाउने गरेको पाण्डेयले जनाए।
जनकपुरमा कस्तो छ वातावरण
जनकपुर र आयोध्याबीच भगिनी सम्बन्ध छ। भारत र नेपालका अधिकारीहरूले यी गन्तव्यहरू समेटेर रामायण सर्किट विकास गरिने बताउँदै आएका छन्।

सन् २०१८ मा जनकपुरको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीसँग मिलेर जनकपुर अयोध्या सीधा बस सेवा सुरुवात भएको घोषणा गरेका थिए।
राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने तयारी चलिरहँदा त्यसको रौनक जनकपुरमा देखिएको छ।

जानकी मन्दिरको तर्फबाट जाने कोसेलीका लागि सर्वसधारणहरूले पनि चाँदी लगायतका विभिन्न आभूषणहरू बनाउन थालेका छन्।

जनकपुरधाममा रहेको लक्की ज्वेलरीमा अयोध्या पठाउने गरगहना बनाउनेहरूको भिड बढेको छ। उद्योगका सञ्चालक पवन ठाकुरका अनुसार चढाउन विभिन्न गरगहना लगायत पूजा सामग्री बनाउने काम भइरहेको छ।

अयोध्यामा निर्माण भएको राम मन्दिरको उद्घाटनका लागि यहाँबाट पठाइने सुनचाँदीको कोसेलीले गर्दा कारोबारमा वृद्धि भएको ठाकुरले बताए।
जनकपुरधामबाट भार लिएर जानेहरूका लागि जानकी मन्दिर परिसरमा एउटा शिविर नै खडा गरिएको छ।

शिविरमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता मनोज कुमार चौधरीका अनुसार श्रद्धालुहरूले सहयोग राशि लगायतका सामग्रीहरू जम्मा गरिरहेका छन्।

भारसँगै अयोध्या जाने श्रद्धालुहरूको सङ्ख्या यकिन नभएपनि ५ सयभन्दा बढी रहने ठानिएको छ।

भगवान् रामको प्राणप्रतिष्ठा समारोहमा सहभागिताका लागि राम मन्दिर ट्रस्टले जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवलाई आमन्त्रण गरिएको छ।

माघ ६ गते हुने प्राणप्रतिष्ठामा सहभागिताका लागि माघ २/३ गते अयोध्याका लागि प्रस्थान गर्ने महन्त रामतपेश्वर दास वैष्णवले बताए।

महन्त रामरोशन दास भने पुस २१ गते देखि नै अयोध्यामा रहने छन्। जानकी मन्दिर स्वामित्वको मन्दिर अयोध्यामा पनि रहेको छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया