Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीवाईसी लघुवित्तमा आर्थिक अनियमितता बढ्यो

सीवाईसी लघुवित्तमा आर्थिक अनियमितता बढ्यो


काठमाडौं । सेयरधनीहरूलाई लाभांश दिन नसक्ने अवस्थामा पुगेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा आर्थिक अनियमितता बढेको पाइएको छ ।

संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्माले व्यक्तिगत प्रयोजनको लागि समेत संस्थाको व्यापकरूपमा दुरूपयोग गर्दै अनियमित खर्च गर्न थालेपछि संस्थाको आर्थिक अवस्था बिग्रन थालेको छ ।

७७ वटै जिल्लामा शाखासञ्जाल विस्तार गरेको नाममा संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक शर्माले दैनिक भ्रमण भत्ता, खाजा खर्चबाहेक नै केही दिन पहिला काठमाडौंको गैरीधारा स्थित एलिस रिसेप्सनमा नेपाल प्रहरीका विभिन्न पदका व्यक्तिहरूलाई बोलाएर खाजा खुवाएको भन्दै एक लाख ६० हजारभन्दा बढी रुपैयाँ संस्थामा दाबी गरेसँगै शर्माले संस्थाको नाममा गरेको दुरूपयोग सार्वजनिक भएको हो ।
साझा प्रकाशनका पूर्वमहाप्रबन्धक समेत भइसकेका शर्मा राजनीतिक संरक्षणमा सीवाईसी नेपाल लघुवित्तमा दोहोरो भूमिका लिएर नियुक्ति लिएका हुन् ।

साझा प्रकाशनमा हुँदा समेत शर्माले अनियमितता गरेको घटना सार्वजनिक भएपछि उनलाई २०७४ असोजमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले बर्खास्त गरेको थियो ।

मन्त्रालयको विरुद्ध शर्मा सर्वाेच्च गएपछि सर्वाेच्चले कारबाही गर्नका लागि शिक्षा मन्त्रालय तालुकवाला मन्त्रालय नभएको भन्दै शर्माको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि शर्मा पुनः साझामै फर्किएका थिए । शर्मालाई शिक्षा मन्त्रालयले नै महाप्रबन्धकमा नियुक्त गरेको थियो । सर्वाेच्चको निर्णयपछि शर्मा साझामा फर्किए पनि पूर्वकर्मचारीको आन्दोलनका कारण उनी नियमितरूपमा कार्यालय भने जान पाएका थिएनन् ।

सामान्यतया वित्तिय संस्थाहरूमा अध्यक्ष र सीईओ अथवा प्रबन्ध निर्देशक एउटै व्यक्ति रहँदैनन् तर राष्ट्र बैंकलाई समेत प्रभावमा पारेर शर्माले संस्थामा दोहोरो भूमिका निभाउँदै आएका छन् ।

राजनीतिक नेता र विशेष गरी नेतृत्वहरूलाई खुशी बनाउन माहिर शर्माले संस्थाको शाखा विस्तार गर्दा समेत नेताको नामबाट शाखाको नामाकरण गरेर आलोचित भएका थिए । आलोचना बढेपछि केही ठाउँका शाखाको नाम पुन राखिएको थियो ।

राजनीतिक संरक्षणको धम्की दिएर संस्थामा विवादित काम गर्दै आएका शर्मा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको नाम भजाएर हिँड्ने गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपाललाई आवश्यक पर्ने सम्पूर्ण कुराहरूको जोहो गर्दै आएका शर्माले उनकै आडमा राष्ट्र बैंकलाई समेत नटेरी आफूखुशी अत्यधिक फजुल खर्च गर्दै आएका हुन् ।

नेता, प्रहरीदेखि नेपाल राष्ट्र बैंकमा समेत आफ्नो अनुकूल रहेको बताउने शर्माले आफूखुशी संस्थाको दुरूपयोग गर्दा समेत कर्मचारीहरू डरले उनको विरोध गर्न नसक्ने अवस्थामा रहेको स्रोतले बतायो । यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष तथा प्रबन्ध निर्देशक शर्मालाई टेलिफोन सम्पर्क गर्दा उनले प्रतिक्रिया दिएनन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया