Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा ‘लुट मच्चाउन बुल्डोजर चलाइँदै’

अफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा ‘लुट मच्चाउन बुल्डोजर चलाइँदै’


काठमाडौं,अफगानिस्तानका दर्जनौँ पुरातात्त्विक स्थलहरूलाई व्यवस्थित रूपमा लुटपाट गर्न दिनका लागि ध्वस्त पारिएको अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरूले बताएका छन्।

उनीहरूले आफूहरूले गरेका भूउपग्रहबाट खिचिएका तस्बिरहरूको विश्लेषणले त्यस्ता घटनाहरूको पहिलो निश्चित ‘फोटोग्राफिक’ प्रमाण उपलब्ध गराएको बताएका छन्।

त्यस्तो कार्यको थालनी अघिल्लो सरकारकै पालामा सुरु भएको र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि जारी रहेको उनीहरूको भनाइ छ।

उनीहरूले बताएअनुसार त्यसरी ध्वस्त पारिएका संरचनाहरू कांस्य युगको उत्तरार्द्ध र फलामे युगका समेत रहेका छन्। त्यो भनेको एक हजार ईसापूर्वभन्दा अगाडिको बेला हो।
उनीहरूले पहिचान गरेका धेरैजसो पुरातात्त्विक क्षेत्रहरू उत्तरी अफगानिस्तानको बल्ख क्षेत्रका हुन्। त्यो क्षेत्र दुई हजार वर्षअघि ब्याक्ट्रिया शासनको केन्द्र थियो।

यो छैटौँ शताब्दी ईसापूर्वमा अचेमेनिड साम्राज्य अन्तर्गत प्राचीन अफगानिस्तानको सबैभन्दा धनी र धेरै जनसङ्ख्या भएको क्षेत्र थियो।

ईसापूर्व ३२७ मा अलेक्जेन्डर द ग्रेटले यस क्षेत्रलाई जितेका थिए र अचेमेनिड शासकलाई पराजित गरेपछि रोक्साना नामक ब्याक्ट्रिअन महिलासँग विवाह गरेका थिए।
प्राचीन रेसम मार्गमा अवस्थित क्षेत्र
ऐतिहासिक पूर्व-पश्चिम रेसम मार्गमा अवस्थित यस क्षेत्रको केन्द्रीय सहर बक्त्र (अहिले त्यसलाई बल्ख भनिन्छ) जोरास्ट्रिअन र बौद्ध शिक्षाको केन्द्र थियो। त्यो पछि एउटा महत्त्वपूर्ण इस्लामिक सहर हुन पुग्यो।

शिकागो विश्वविद्यालयको सेन्टर फर कल्चरल हेरिटेज प्रिजर्भेशनका खोजकर्ताहरूले अफगानिस्तानमा २९ हजार भन्दा बढी पुरातात्त्विक क्षेत्रहरूको पहिचान गरेका छन्।

उनीहरूले स्याटेलाइट तस्बिर र अन्य उपकरणहरूको सहायतामा ती क्षेत्रहरूको पहिचान गरेका हुन्।

तर सन् २०१८ पछि उनीहरूले बाल्ख क्षेत्रमा नयाँ अवस्था देखेका छन्।

उनीहरूले ती तस्बिरहरूमा धब्बाहरू पहिचान गरेको बताएका छन्। ती बुल्डोजरहरू भएकोमा उनीहरू विश्वस्त छन्।

त्यसको कारणबारे उनीहरू के भन्छन् भने तिनीहरू कहिले देखा पर्छन् र कहिले हराउँछन् अनि हिँड्दा बाटो बनाउँदै गएको जस्तो देखिन्छ।
लुटको शृङ्खला
उक्त सेन्टरका निर्देशक गिल स्टेनले ती भर्खरै डोजर लगाइएको क्षेत्रहरू पछिल्ला तस्बिरहरूमा देखा परेको बताए।

उनका अनुसार ती क्षेत्रहरूमा लुटेराहरूले खनेका खाडलै खाडल छन्।

“मूलत: मानिसहरूलाई व्यवस्थित रूपमा यी क्षेत्रहरू लुट्न सजिलो बनाउन ती विशाल क्षेत्रहरू खाली गराइँदै थिए,” उनले भने।

उनको टोलीका अनुसार सन् २०१८ र २०२१ को बीचमा १६२ वटा प्राचीन बस्तीहरू “एक साताभित्रै अचम्म पार्ने दरमा ध्वस्त” भएको छ र तालिबान सत्तामा आएपछि पनि ३७ वटा क्षेत्रमा त्यस्तो अभ्यास जारी छ।
सम्भावित लुटेराहरूलाई जानकारी प्राप्त नहोस् भनेर ती अनुसन्धानकर्ताहरूले त्यसरी ध्वस्त बनाइएका स्थानहरू भने प्रकाशित गरेका छैनन्। धेरै स्थानहरूको दस्तावेजीकरण गर्ने कार्य प्रारम्भिक चरणमै रहेको छ।

त्यसको अर्थ शोधकर्ताहरूलाई ती स्थानहरूमा के गाडिएको छ भन्ने थाहा छैन। त्यहाँ मुख्यत: ढिस्काहरू, किल्ला, प्राचीन पौवाहरू, नहर प्रणालीहरू रहेका छन्।

तर केवल ९७ किलोमिटर टाढा रहेको तेला टेपेमा २,००० वर्ष पुरानो ब्याक्ट्रिअन सुनको भण्डार फेला परेको थियो।

“हिल अफ गोल्ड” भनिने स्थानमा सुनका गहना, एउटा जटिल खालको मुकुट र सिक्कासहित २०,००० दुर्लभ वस्तुहरू थिए।

त्यसलाई अहिले अफगानिस्तानको हराएको खजाना भनिन्छ।
कसले गरिरहेको छ विनाश?
क्याम्ब्रिज विश्वविद्यालयका रिसर्च फेलो रेजा हुसेनी भन्छन्, “त्यहाँ तपाईँले प्रत्येक ढिस्कोमा सभ्यताका तह पत्ता लगाउन सक्नुहुन्छ।”

बल्खमा जन्मेका उनले आफ्नो युवाकालमा उत्तरी अफगानिस्तानका पुरातात्विक स्थलहरूको सर्वेक्षण गर्ने स्वयम्‌ सेवकको रूपमा काम गरेका थिए।

त्यसमध्ये केही स्थानमा अनुसन्धानकर्ताहरूले बुल्डोजर चलाइएको बताएका छन्। शिकागो विश्वविद्यालयका तस्बिरहरू देखेर उनी स्तब्ध भए।

“जब म यसको बारेमा सुन्छु, मलाई मेरो आत्मा मरेको जस्तो लाग्छ,” उनले भने।

यो विनाशमा कसको हात छ भन्ने स्पष्ट जवाफ कसैसँग छैन।

प्राध्यापक स्टेनका अनुसार यस्तो गतिविधि अघिल्लो सरकारकै बेलामा सुरु भएको थियो।

त्यस बेला पूर्व राष्ट्रपति अशरफ गनीको नेतृत्वको सरकार थियो। अहिले तालिबानको सरकार हुँदा पनि त्यो क्रम जारी देखिन्छ।

गनीको सरकार कमजोर थियो र देशका केही भागहरूमा उसको पूर्ण नियन्त्रण थिएन।

सरकार फेरिए पनि लुट जारी
उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहर मजार-ए-शरिफसहित बल्ख अगस्ट २०२१ मा राजधानी काबुल कब्जा गर्नुअघि तालिबानको हातमा पर्ने सुरुवाती क्षेत्रहरू मध्ये एक थियो।

प्राध्यापक स्टेन ती स्थलहरूमा धनी र शक्तिशाली व्यक्तिले लुट मच्चाइरहेको हुनसक्ने ठान्छन्।

उनी जमिन खन्ने महँगा उपकरण किन्न वा ती उपकरणलाई भाडामा लिन सक्ने व्यक्तिले मात्र यस्तो गर्नसक्ने बताउँछन्।

ती ग्रामीण क्षेत्रमा “कसैले हस्तक्षेप नगरी” उनीहरूले त्यसलाई चलाउन सक्छन्।

हुसेनी आफूले सन् २००९ मा देश छोड्नुअघि पनि त्यस क्षेत्रका केही पुरातात्त्विक स्थलहरू लुटिएको बताउँछन्।

“स्थानीय प्रभावशाली मानिसहरू र सेनाको अनुमति बिना त्यहाँ कसैले उत्खनन गर्न सक्दैन,” उनले भने।

“उनीहरूका निम्ति ऐतिहासिक वस्तुको महत्त्व र मूल्यको मतलब छैन। उनीहरू त्यहाँ के पाउन सकिन्छ भनेर खन्छन् र ती ऐतिहासिक महत्त्वका कुरालाई नष्ट गर्छन्। मैले त्यस्ता गतिविधि आफ्नै आँखाले देखेको छु। उनीहरू मूल्यवान्‌ कुरा भेटिन्छ कि भनेर माटोलाई चाल्नाले चाल्नेसम्मको काम गर्छन्।”

उनी कुनै बेला पुरातात्त्विक क्षेत्रमा पहुँच स्थापित गर्ने प्रयासको हिस्साका रूपमा रहेका थिए। त्यसबेला ती क्षेत्रमा मिलिशिया कमान्डरले अफिम रोपेका थिए।

तालिबानले आफ्नो पहिलो कार्यकालमा सन् २००१ मा विश्वलाई नै स्तब्ध पार्नेगरी एक हजार ५ सय वर्ष पुराना बामियान बुद्धका प्रतिमाहरू ध्वस्त गरिदिएका थिए।

ती मूर्तिहरू त्यस बेला संसारका सबैभन्दा अग्ला बुद्ध प्रतिमाका रूपमा रहेका थिए।

तर दुई दशकपछि सत्तामा फर्किएका उनीहरूले देशका पुरानो सम्पदाको सम्मान गर्ने बताएका छन्।
तालिबान के भन्छ?
तालिबानका सूचना तथा संस्कृतिका लागि कार्यवाहक उप-मन्त्री अतिकुल्लाह अजिजिले लुटपाट भइरहेको दाबीलाई अस्वीकार गर्दै ऐतिहासिक स्थलहरूको रेखदेखका लागि ८०० सुरक्षा फौजको एउटा टोली खटाइएको बताए।

उनले भने, “बुल्डोजर चलाउने र माटो यताबाट उता सार्ने मानिसहरूबारे केही संस्थाले मन्त्रालयमा तस्बिरहरू पठाएका थिए।”

“हामीले ती स्थलहरू जाँच गर्न विभिन्न टोलीहरू पठाएका छौँ र म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने ती स्थानमा एउटा पनि त्यस्तो घटना भएको छैन।”

तालिबानको रक्षा मन्त्रालयले गत सेप्टेम्बरमा मूर्तिहरू, ममीहरू, सुनको मुकुट, किताब र तरबारहरूसहित करिब दुई करोड ७० लाख डलर मूल्य बराबरका पुरातात्त्विक वस्तुहरू तस्करी गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरिएको बताएको थियो।
ती सामानहरू राष्ट्रिय सङ्ग्रहालयमा बुझाइएको र अनुसन्धान जारी रहेको उनले बताए।

मैले प्राध्यापक स्टेनसँग अजिजिले दिएको प्रतिक्रियाबारे कुरा गरेँ।

“म अनुमान पनि गर्न सक्दिन किन मानिसहरूले यसलाई अस्वीकार गर्छन्। शायद प्रमाणको सामना गर्न लाज लागेकाले त्यसो भनिएको होला,” उनले भने।

“त्यहाँ दुई वटा धेरै नै फरक खालका राजनीतिक व्यवस्थामा पनि यस्तो कुराको निरन्तरता छ भनेर हामी देखाउन सक्छौँ।”

प्राध्यापक स्टेनका अनुमानमा ती लुटिएका कलाकृतिहरू अफगानिस्तानबाट इरान, पाकिस्तान र अन्य देश हुँदै तस्करी गरिन्छन् र ती त्यहाँबाट युरोप, उत्तर अमेरिका र सुदूर पूर्वमा पुग्छन्।

उनी तीमध्ये केहीलाई संसारभरिका लिलामी केन्द्र र सङ्ग्रहालयहरूमा प्रदर्शन वा बोलकबोलमा राखिन सक्ने पनि ठान्छन्।

उनी अफगानिस्तानको सम्पदा पनि विश्वका सबै मानिसको सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया