Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशघाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्ने होडबाजी

घाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्ने होडबाजी


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहँदै आएका उद्योगहरूमा साधारण सेयर निष्काशन गर्ने होडबाजी चलेको छ । कतिपय त घाटामा गएका उद्योगहरूले समेत सेयर जारी गर्ने होडबाजी गरिरहेका छन् । सुनसरीको खनारमा रहेको रिलाइन्स स्पिनिङ उद्योगले आईपीओ निष्काशन नै गरिसकेको छ भने सुनसरीमै रहेको सारडा ग्रुपको प्रिमियम स्टिलले पनि आईपीओ जारी गर्नको लागि तयारी गरिरहेको छ ।

घाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्नुुका पछाडि बैंकमा रहेको व्यक्तिगत ऋणको जमानी फिर्ता हुुने र आईपीओ जनतालाई बेचेर आम्दानी गर्ने उद्देश्यले मात्रै रहेको देखिन्छ । अहिले बैंकहरूमा अधिक मात्रामा तरलता थपिएको र लगानीका लागि कुनै नयाँ क्षेत्र नदेखिँदा बैंकमा पैसा खचाखच जम्मा भएर बसेको छ ।

बैंकमा तरलता बढी भएसँगै बैंकले आफ्नो लगानी उद्योग, व्यापार वा घर जग्गामा समेत गर्न नसकेको अवस्थामा पछिल्लो समय आईपीओ जारी गर्ने होडबाजी चलेको एक उद्योगीले जानकारी दिए । यो आईपीओ निष्काशनको होडबाजीसँगै स्वाभाविक सेयरबजारमा एउटा विचलनको अवस्था देखापरेको भन्दै यसको सुधार तत्काल हुन नसकेमा सेयरबजार पनि धराशायी बन्ने ती उद्योगीको भनाइ छ ।

सरकारले सेयरबजारप्रतिको दृष्टिकोण र पोलिसीमा कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ । अहिले जस्तो पनि कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएको र ती कम्पनीलाई पनि फेरि अनुमति प्रदान गरेपछि यस्तो अस्तव्यस्त अवस्थाबाट बजार र समग्र अर्थतन्त्रको सुधार हुन नसक्ने उद्योगी तथा व्यवसायीको दाबी छ ।

२०२३ को सुरुदेखि नै ओरालो लाग्दै आएको नेप्सेको यात्रामा २०२४ को सुरुवाती अवस्थासम्म पनि अपेक्षाकृत सुधार हुन सकेको छैन । पछिल्ला महिनाहरूमा अपेक्षा गरेभन्दा सुस्त गतिमा बढिरहेको नेप्सेले कर्पोरेट क्षेत्रको आम्दानी र नाफाको बारेमा चिन्ता निम्त्याइरहेको अवस्थामा करिडोरमा थलिएका र घाटामा सञ्चालन भइरहेका केही उद्योगहरूले आईपीओ जारी गर्न लामबद्घ भएपछि पछिल्लो समय सेयर कारोबार नै धराशायी हुने अवस्था आउने हो कि भन्ने प्रश्न खण्डा हुन पुगेको छ ।

सेयरबजार एउटा निश्चित विन्दुमा पुगेर फेरि कुनै बिन्दुमा झर्नु वा घट्नु स्वाभाविक भए पनि बजार बढिरह्यो भने पनि निकट भविष्यमा त्यसको ठूलो क्षति लगानीकर्ताले भोग्नुपर्ने हुन्छ । सेयरबजार ठूलो परिमाणमा घट्यो भने पनि अब खराब यात्राको समापन भएर नयाँ यात्राको तय हुँदै छ कि भन्ने विश्वास आम नागरिकमा जागेको देखिन्छ । तर, ती अवस्था केही पनि नहुुँदा–नहुुँदै अहिले सुुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका केही उद्योगका नाममा आईपीओ जारी गर्ने होडबाजी किन बढ्यो भन्नेमा सेयरबजारका खेलाडीहरू नै आश्चर्यमा छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया