Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनस्तरबाटै ‘लकडाउन’को विरोध सुरु

जनस्तरबाटै ‘लकडाउन’को विरोध सुरु


विराटनगर, जेठ २०
आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको पछिल्लो निर्णयको उद्योगी, व्यापारी तथा सर्वसाधारणबाट समेत विरोध हुन थालेको छ । दुई महिनाभन्दा बढी लकडाउन हुँदा पनि कोरोना रोकथामका लागि सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै लकडाउन थप्ने निर्णयको जनस्तरबाटै विरोध हुन थालेको हो । हालसम्म गरिएको कोरोना परिक्षणको संख्या समेत अत्यधिक न्यून भएको भन्दै अब सरकारको भरोसा गर्न नसकिने अवस्था सृजना हुँदै गएको सर्वसाधारणको भनाइ छ । उद्योग व्यापार समेत धराशायी बन्न थालेको भन्दै निजी क्षेत्रले समेत लकडाउन हटाउन माग गर्न थालेका छन् ।

पछिल्लो समय सरकारको निर्देशनको पालना गर्न नसकिने भन्दै प्रदेश १ बाट विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध व्यक्ति तथा संघसंस्थाले जेठ २१ बाट लकडाउनको अवज्ञा गर्ने चेतावनी समेत दिइसकेका छन् । कतिपय संगठनहरूले संस्थागत निर्णय नै गरी जेठ २१ गतेबाट लकडाउन अवज्ञा गर्ने घोषणा गरेका छन् । निजी विद्यायलहरूको छाता संगठन प्याबसनले जेठ २१ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । जेठ २१ गतेबाट विद्यालयको प्रशासनिक विभागहरू सञ्चालन गरिने र त्यसलगतै कक्षाहरू समेत सञ्चालानमा ल्याउने प्याब्सनको तयारी छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका ठूला उद्योगी, साना तथा मझौला व्यापारी समेतले जेठ २१ गतेबाट विराटनगर बजार क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्ने जनाएका छन् । सामजिक दूरी कायम राख्दै सरकारको निर्देशनअनुसारको स्वास्थ्य सामग्रीको प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने उनीहरूको भनाइ छ । लामो समयदेखि भएको लकडाउनको कारण व्यापारीको व्ययभार अत्यधिक बढेको भन्दै अब पसल बन्द गर्न नसकिने साना तथा मझौला व्यवसायीको भनाइ छ । ‘प्रधानमन्त्रीले लकडाउन भन्दिए पुग्छ, खेप्नु हामीले पर्छ’, एक व्यवसायीले भने, ‘नेतालाई बसीबसी खानलाई पुग्छ, हामीलाई पुग्दैन ।’ पसलको भाडा, अनेक थरीका कर, बैंकको ब्याज, स्टाफ खर्च पसल बन्द भएपछि कहाँबाट पु-याउने उनले आक्रोश व्यक्त गरे ।

अब सरकरको लकडाउन लम्ब्याउने निर्णयको विरुद्ध आम नागरिकहरू पनि अन्दोलनमा उत्रिनु पर्ने अवस्था बन्दै गएको उद्योगी एवं व्यवसायीले बताउन थालेका छन् । सरकारको ढिलासुस्ती, वेपर्वा प्रवृत्तिले गर्दा लकडाउन लम्बिरहेको जनताको बुझाइ छ । सरकारले लकडाउनको मोडालिटी फेर्ने कुरा बारम्बार गर्दै आए पनि हालसम्म कुनै पनि वैकल्पिक योजना ल्याउन नसकेकोमा आमसार्वसाधरण समेत आक्रोशित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया