Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगलागीका कारण कर्णाली पुलमा आवागमन बन्द

आगलागीका कारण कर्णाली पुलमा आवागमन बन्द


लम्की (कैलाली) । कर्णाली पुलमा सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको जानकारी दिएका छन् । उनले भने, “हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । मंगलबार बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।”

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको बताए । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए ।

सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताए । आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ ।

कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले वीरगञ्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर आइतबार अपराह्न हिँडेको ट्रक सोमबार अपराह्न कर्णाली पुलमा पुगेको बताए । उनले भने, “हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ । त्यहाँ चिट दिएर अगाडि बढ्यौं । गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ । पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो ।”

“चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अङ्कल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडि लिए । पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन ।” चालक जोशीले भने ।

आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । प्रहरीले आगलागीबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताए ।

आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एक खम्बाको सहायताले मात्र रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा एसियाकै नमूना पुलका रूपमा रहेको पुल हेर्न छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया