Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय प्रणालीमा अधिक तरलता दुई दिनमा एक खर्ब प्रशोचन

वित्तीय प्रणालीमा अधिक तरलता दुई दिनमा एक खर्ब प्रशोचन


काठमाडौं,बैंकिङ प्रणालीमा अहिले ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार केही महिनायता बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको छ ।
कर्जा प्रवाह भने खासै बढेको छैन । यस्तै उच्च महँगीले गर्दा उपभोग घटेको छ । यही कारण बैंकमा पैसा राखेर निक्षेप खानेहरु बढ्दा वित्तीय प्रणालीमा तरलता बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ५४ खर्ब ७४ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा सात खर्ब १४ अर्ब रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म ५० खर्ब ८२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब ९३ अर्ब रुपैयाँ लगानी गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीहरुको लगानी पाँच खर्ब ८७ अर्ब रुपैयाँ छ । निक्षेप र कर्जाको बीचमा अहिले झण्डै ११ खर्ब सात अर्ब रुपैयाँ फरक छ । यस्तै, निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ७९ दशमलव ७३ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाले चार खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न पाउँछन् ।

अहिले अर्थतन्त्रमा आएको संकुचनकै कारण कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्था नरहेको बैंकहरुले बताउँदै आएका छन् । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ भने शुक्रबार थप ५० अर्ब रुपैयाँ तान्न लागेको छ । निक्षेप संकलन उपकरणमार्फत बिहीबार ५० अर्ब रुपैयाँ १४ दिनका लागि प्रशोचन गरेको थियो भने शुक्रबार २१ दिनको लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । चैत आठ गते बिहीबार बिक्री गरेको निक्षेप संकलन उपकरण चैत २२ गते परिपक्व हुनेछ भने चैत ९ गते जारी हुने निक्षेप संकलन उपकरण चैत ३० गते परिपक्व हुनेछ । निक्षेप संकलन उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने मौद्रिक उपकरण हो ।

खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया