Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशचतराधाम नेपालका चार धाममध्येको एक महत्वपूर्ण धाम हो : राष्ट्रपति

चतराधाम नेपालका चार धाममध्येको एक महत्वपूर्ण धाम हो : राष्ट्रपति


धरान (सुनसरी) । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन गर्दै राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् ।

उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे । उनले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरे ।

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गरेको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरे ।

चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको बताए । उनले ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित सुन्दर र शान्त नेपालमा कैयौँ महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल तथा प्रकृतिको वरदानका रुपमा प्रशस्त नदीनाला, हिमशृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखि नै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानवजातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको पनि बताए ।

राष्ट्रपति पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने, राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवर्द्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव भएको बताए । ।

उनले विभिन्न देशका भक्तजनरू एकै ठाउँमा भेला भई विद्वत् सम्मेलन गर्ने, कुम्भ मेलाकै अवसरमा सामूहिक व्रतबन्ध गर्ने, साहित्यिक गतिविधिहरू सञ्चालन गरिनुले सामाजिक जागरणमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे ।

उनले स्कन्दपुराणको हिमाद्रि खण्डको अध्ययनपश्चात् अमृतका थोपा मात्र झरेका ठाउँमा मित्रराष्ट्र भारतका चार स्थानहरू प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लागिरहेको सन्दर्भमा नेपालमा अमृतको तर बटारेर पिण्ड नै राखेको ठाउँमा कुम्भमेला लगाउनु झन् युक्तिसङ्गत हुन्छ भन्ने शास्त्रार्थ गरेर शङ्काराचार्य, जगद्गुरु, धर्माचार्य एवं विशिष्ट सन्त, महन्तसमेतलाई सहभागी गराई नेपालको कुम्भलाई विश्वकै कुम्भका रुपमा स्थापित गराउन गरेको प्रयासका लागि जगत्गुरुको प्रशंसा पनि गरे ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया