Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९७ दिनमा ६ अर्बको औषधि आयात

९७ दिनमा ६ अर्बको औषधि आयात


प्रवीण राउत
काठमाडौं, असार १७
लकडाउनकै दौडान झण्डै छ अर्ब रुपैयाँबराबरकोे तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत ११ देखि असार १४ गतेसम्म (९७ दिन)को अवधिमा पाँच अर्ब ४८ करोड ३१ लाख २७ हजार मूल्यबराबरको तयारी औषधि तथा एक अर्ब ६७ करोड ९३ लाख एक हजार मूल्यबराबरको औषधिको कच्चा पदार्थ आयात गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश दाहालले असार दोस्रो साता तयारी औषधिको आयात उच्च भएको बताए । ‘असार ११ गते तयारी औषधिको आयात उच्च रहेको थियो’, उनले भने, ‘लकडाउन सुरु भएको दोस्रो साता र आठौँ साताको पूरै सातामा आयात भएको तयारी औषधिभन्दा बढी सो दिनमा आयात भएको छ । असार ११ गते १६ करोड १८ लाख ५० हजार मूल्यबराबरको तयारी औषधि आयात भएको छ ।’

त्यसैगरी खाद्यान्न, दलहन, तरकारी, फलफूल, दुग्धजन्य सामग्री समेत आयात भइरहेको छ । लकडाउन र लकडाउन खुकुलो भएको समयमा तीन लाख ९० हजार आठ सय ७१ मेट्रिक टन खाद्यान्न, ९८ हजार एक सय ५७ मेट्रिक टन दलहन, एक लाख १३ हजार सात सय ७२ मेट्रिक टन तरकारी, ४४ हजार तीन सय ३० मेट्रिक टन फलफूल, १२ हजार चार सय ६० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

उनले चैतको तुलनामा क्रमशः वैशाख र जेठमा खाद्यान्न, दलहन र औषधिजन्य सामग्रीहरुको आयात बढेको बताए । ‘चैतको तुलनामा वैशाखमा र वैशाखको तुलनामा जेठमा खाद्यान्न, तरकारी गरी सात प्रकारको सामग्रीको आयातमा बढेको छ’, प्रवक्ता दाहालले भने, ‘तर वैशाखको तुलनामा तरकारी, फलफूल र दुग्धजन्य पदार्थको आयात जेठमा घटेको छ ।’

दुग्धजन्य पदार्थको आयात भने वैशाख ५ गते एकै दिन १० हजार आठ सय ४८ मेट्रिक टन आयात भएकोले वैशाखमा अत्यधिक आयात भएको देखिन्छ । त्यसपछिका दिनहरुमा भने दुग्धजन्य पदार्थको आयातमा भने कमी आइरहेको छ । जेठ महिनाको दोस्रो सातामा आयातित तरकारी र फलफूलको उपभोग नगर्ने भनी केही भन्सार नाकाहरुमा अवरोधले गर्दा आयातमा कमी आएको थियो ।

त्यसैगरी उद्योग मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि सहकारीहरु र स्थानीय तहसँग समेत समन्वय गरी काठमाडौं उपत्यकानजिकका कृषकहरुबाट तरकारी बजारसम्म ल्याउन सहजीकरण गरेको कारण पनि आयातमा कमी हुन गएको थियो । त्यसैगरी रसुवागढी नाकाबाहेक अन्य सबै सीमानाकाहरुबाट सामान आइरहेका छन् भने तिनको ढुवानी भइरहेको छ । रसुवागढी नाका समेत खोल्ने सम्बन्धमा चीन सरकार सकारात्मक भई पत्र पठाएको छ । असार १० गते स्थानीयस्तरमा दुवै देशका सम्बन्धित अधिकारीहरुको वार्ता भएको छ ।

१२ सय २४ ट्रक बाहिरिँदा ११ सय ५६ वटा भित्रिए : असार १३ गते वीरगञ्जका एकीकृत जाँच चौकी (आईसीपी) नाकाबाट तीन सय ३५ ट्रक भित्रिएको तथा तीन सय ८३ ट्रक बाहिरिएको छ भने बाँकी तीन सय ८३ ट्रक आउजाउ गर्न बाँकी छ । त्यसैगरी वीरगञ्जका आईसीपी नाकाबाट ९० वटा लरी भित्रिएको छ भने कुनै पनि बाहिरिएको छैन तथा दुई हजार तीन सय ६६ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ । भैरहवा नाकाबाट चार सय ८० ट्रक भित्रिएको तथा दुई सय ९० ट्रक बाहिरिएको तथा तीन सय ५७ वटा ट्रक आउजाउ गर्न बाँकी छ ।

यस्तै विराटनगर आईसीपी नाकाबाट तीन सय २४ ट्रक भित्रिएको तथा तीन सय २९ वटा ट्रक बाहिरिएको र दुई सय ३९ वटा ट्रक आउजाउ गर्न बाँकी तथा विराटनगर आईसीपीबाट कुनै पनि ट्रक भित्रिएको तथा बाहिरिएको छैन भने एउटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ । त्यसैगरी काँकडभित्ताबाट १३ वटा ट्रक भित्रिएको तथा चारवटा ट्रक बाहिरिएको छ भने २६ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको र तातोपानी नाकाबाट चारवटा ट्रक भित्रिएको र २८ वटा ट्रक बाहिरिएको छ भने ३० वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया