Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको जोखिम झनै बढ्यो, सिंहदरबारभित्रै स्वाब सङ्कलन

कोरोनाको जोखिम झनै बढ्यो, सिंहदरबारभित्रै स्वाब सङ्कलन


काठमाडौं, साउन १५
सरकारले लकडाउन खोलेपछि देशभर कोरोना संक्रमणको जोखिम बढेको छ । काठमाडौं उपत्यकामा भारतदेखिका नागरिकको दैनिक प्रवेश बढेको छ । यसले पनि संक्रमणको जोखिम बढेको हो । तराईका जिज्लाहरुमा पनि भारतीय नानगरिककै कारण कोरोना संक्रमण बढ्दो छ । अहिले कतिपयमा कोरोनाको लक्ष्यण नै देखिएपछि जोखिम झनै बढेको हो ।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भने पनि अहिले भारतदेखि सरासर मानिसहरु निर्बाध रुपमा काठमाडौं प्रवेश गरेका छन् । बाहिरका मानिसहरुको प्रवेशसँगै कोरोना संक्रमितहरु पनि भित्रिने क्रम जारी छ । त्यही भएर सरकारले नाकामा पनि परीक्षण थालेको छ । परीक्षण थाले पनि नियन्त्रणका उपाय नअपनाएको कारण कोरोना संक्रमितको संख्या अझै बढ्ने देखिएको छ । संक्रमितहरु पनि निर्बाध रुपमा हिँड्ने गर्नाले थप मानिसमा पनि कोरोना देखिने सम्भावना बढेको छ ।

लकडाउन खुल्नुअघिको आठ दिनको अवधिमा कुल ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १ सय ९ नमूना परीक्षण गर्दा एक हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

लकडाउन खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेका छन् ।

पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २ सय १० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । बुधबार सबैभन्दा बढी डोटीमा ५२ सङ्क्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठ/आठ, धादिङ र बागलुङमा सात/सात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुई/दुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एक/एक सङ्क्रमित थपिएका छन् ।

मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २ सय ३ रहेको छ । प्रदेश नं १ मा २ सय २६, प्रदेश नं २ मा एक हजार ९ सय ८२, वाग्मती प्रदेशमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश नं ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५ सय २१ सक्रिय सङ्क्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४ सय ७१ छ ।

नेपालमा हालसम्म कूल सङ्क्रमितको ७२.७ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७ सय ८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा एक हजार २ सय २७, प्रदेश ५ मा तीन हजार ९ सय १०, कर्णाली प्रदेशमा एक हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८ सय ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

नेपालमा प्रति १० लाखमा १२ हजार २ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७ सय १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३ सय ८३ ‘डिस्चार्ज’ भएका छन् ।

काठमाडौंमा कोरोनााको जोखिम बढेपछि सरकारले सिंहदबारभित्र पनि स्वाब संकलन गरेको छ । सिंहदरबारभित्र धेरै नेताहरु प्रवेश गर्ने र उनीहरुलाई रोक्न नसकिने भएको कारण सरकारले परीक्षण गरेरै सिंहदरबारभित्रको अवस्थाबारे जानकारी दिन लागेको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ले बुधबार सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित पाँच सय आठ जनाको स्वाब सङ्कलन गरेको छ ।

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो । सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिन जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरुपमा पाँच सयदेखि सात सयसम्मले सजिलै स्वाब सङ्कलन गर्न सकिनेछ ।

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब सङ्कलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पिपिइ, पञ्जा, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ । यस भ्यानमा स्वाब सङ्कलनका लागि चाहिनेजति सबै प्रविधि जडान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया