Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने

उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने


काठमाडौं, भदौ १६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गरिने बताएका छन् । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि घुम्नको लागि पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार तयार गर्ने बताए । त्यसका लागि उपत्यकामा पदमार्ग, साइक्लिङ, ट्रेल पर्यटनउपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न पर्यटन बोर्डलाई निर्देशन समेत दिए ।

साथै मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न निर्देशन, विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न समेत बोर्डलाई निर्देशन दिए ।

पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै उनले विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्जलगायतका भर्चुअल टुरको सामग्री तयार गर्नुका साथै अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिपोर्ट तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे ।

उनले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुरलगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा सुरु गर्न पर्यटन बोर्डलाई निर्देशन समेत दिए । उनले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए ।

यसैगरी विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ/संस्थाहरुसँग नेटवक विस्तार गर्न समेत आग्रह गरे । कोभिड १९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के–के गर्न सकिन्छ, त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६/०७७ को प्रगति र २०७७/०७८ का कार्यक्रमबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया