Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार७० प्रतिशत कोरोना संक्रमण काठमाडौं उपत्यकामा

७० प्रतिशत कोरोना संक्रमण काठमाडौं उपत्यकामा


काठमाडौं ।
शनिबार दिउँसोदेखि आइतबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा देशभर गरिएको परीक्षणमा ७० दशमलव ९७ प्रतिशत कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र फेला परेका छन् । देशभरका प्रयोगशालामा १२ हजार सात सय ८४ जनामा गरिएको परीक्षणमा दुई हजार दुई सय ५३ जनाका कोरोना देखिएको छ । त्यसमा पनि काठमाडौं उपत्यकामा मात्रै एक हजार पाँच सय ९९ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा एक हजार तीन सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको कारण पाँच सय ३५ जनाको मृत्यु भइसकेको छ भने ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । घना जनसंख्या र चाडबाडको कारण बजारमा मानिसको भीड बढेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्याले नयाँ–नयाँ रेकर्ड बनाउँदै लगेको हो । नयाँ–नयाँ रेकर्डले काठमाडौं उपत्यकाका बिरामीलाई नै अस्पतालले नधान्ने अवस्था सिर्जना हुँदै गएको छ ।

काठमाडौंमा फैलिएको कोरोना दशैंमा ग्रामीण भेगमा सर्ने अनुमान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमनागरिकलाई जहाँ छौँ, त्यही बसेर दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयको उक्त भनाइले दशैंको बेला सरकारले हिँड्डुलमा कडाइ गर्ने संकेत गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नका लागि कडा प्रावधान ल्याउन लागिएको जानकारी दिएका छन् ।

देशभर २२ हजार दुई सय १९ जना सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये ११ हजार आठ सय ९३ जना होम आइसोलेसन र १० हजार तीन सय २६ जना संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्नेले स्वास्थ्य मापदण्ड पूर्ण पालना नगरेको कारण कोरोना सक्रमणमा वृद्धि भएको अनुमान गरिएको छ । अहिले संक्रमितमध्ये दुई सय २६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अधिक भए पनि मानिसहरुमा कुनै डर र त्रास देखिँदैन । नाक र मुख छोपेर लगाउनुपर्ने मास्क चिउँडो र हातमा लगाएर सामान किनमेल गर्न जानेहरुको भीड बजारमा बढेको छ । यसले पनि काठमाडौंमा कोरोना फैलाउन सहयोग गरेको छ । सार्वजनिक यातायातका साधनमा पनि स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

आइतबार मोरङमा ८१, कैलालीमा ५५, सुर्खेतमा ५४, चितवन र रुपन्देहीमा ५२/५२ जना, बर्दियामा ५०, नवलपुरमा ४० जना, मकवानपुरमा २२, कञ्चनपुरमा २१, तनहुँमा १९, झापामा १६, पाल्पामा १५, नुवकोटमा १४, बाँकेमा १३ र काभ्रे जिल्लामा १० जना नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा र दाङमा नौ/नौ जना, सुनसरी, पर्सा, धादिङ्ग, सिन्धुपाल्चोक, दैलेखमा आठ/आठ जना, कास्की र स्याङ्जामा चार/चार जना, खोटाङ, सप्तरी र बाग्लुङमा तीन/तीन जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानमा दुई/दुई जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेल्धुरा, बझाङ र बैतडीमा एक/एक जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया