Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजनीतिक अस्थिरतालाई बेवास्ता गर्दै पुँजीबजार

राजनीतिक अस्थिरतालाई बेवास्ता गर्दै पुँजीबजार


काठमाडौँ ।
राजनीतिक अस्थिरता जारी रहे पनि नेपालको पुँजी बजारले त्यसलाई बेवास्ता गर्दै अगाडि बढ्ने संकेत गरेको छ । आइतबार पहिरो गएको सेयर बजार सोमबार केही सुधारिए पनि मंगलबार भने ९५ दशमलव ४६ अंकले उकालो लागेर दुई हजार ६१ दशमलव ४१ अंकमा चढेको छ । यद्यपि मंगलबार सत्तारुढ नेकपा फुटेको छ । नेकपामा एकातिर केपी शर्मा ओली अध्यक्ष छन् भने अर्कोतिर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अध्यक्ष बनेका छन् ।

प्रतिनिधिसभा विघटनले वैधानिकता पाउने वा नपाउने भन्ने अन्योलमै छ । यो अन्योल जारी रहेसम्म नीतिगत निर्णय हुने देखिँदैन । यसले देशकै समग्र अर्थतन्त्रमा धक्का लाग्नेछ । तर, पुँजीबजारको गति हेर्दा राजनीति घटनाक्रमलाई खासै वास्ता गरेको देखिन्न । राजनीतिक घटना परिवर्तन भएको एक÷दुई दिन विश्वका जुनसुकै देशमा पनि सेयरबजारमा सामान्य असर पर्छ । आइतबारको असरलाई पनि त्यही रुपमा लिइएको छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव १८ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ७४ अंकमा पुगेको छ । कुल दुई सय पाँचवटा कम्पनीहरूको सेयर किनबेच भएका छन् । जसबाट ५५ हजार सात सय २१ पटकको कारोबारमा एक करोड २७ लाख १७ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम छ अर्ब ७४ करोड सात लाख ४४ हजार चार सय ३२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूहको कारोबार भएका छन् । जसमध्ये सबै समूहको सूचक यस दिन उकालो लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक ७० दशमलव नौ अंकले उकालो लागेर १५ सय ४० दशमलव ९० अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ६६ दशमलव १७ अंकले उकालो लागेर दुई हजार एक सय ९० दशमलव ५२ अंकमा चढेको छ ।

जलविद्युत् उपसमूहको सूचक पनि ८० दशमलव ६८ अंकले उकालो लागेर १६ सय ४८ दशमलव ९७ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि एक सय सात दशमलव पाँच अंकले उकालो लागेर तीन हजार दुई सय ९३ दशमलव ३८ अंकमा चढेकोे छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि पाँच सय २७ दशमलव ७७ अंकले उकालो लागेर नौ हजार सात सय ३६ दशमलव ४८ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि नौ सय ५० दशमलव ९५ अंकले उकालो लागेर १३ हजार सात सय ४१ दशमलव ९८ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः ७७ दशमलव ४८, २० दशमलव ५६, २५ दशमलव आठ, एक सय १३ दशमलव आठ, ७८ दशमलव आठ र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १८ सय २६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य पनि १० प्रतिशतले बढेर १४ हजार पाँच सय ९१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नबिल बैंक, एनआईसी एसिया बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने नौ दशमलव ९२ प्रतिशतले घटेर चार सय ३६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९० प्रतिशतले घटेर दुई सय ६४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन इनर्जी नेपाल, राधी जलविद्युत् कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।

उक्त कम्पनीको प्रतिकित्ता २३ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ८६ करोड ३६ लाख ८२ हजार सात सय ७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता आठ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ८१ लाख ३४ हजार एक सय ७२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया