Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने

एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यस दिन अर्थात् असार ८ गते मंगलबार छ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘च’ बिक्री गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकमा बिक्री गरिने यो ऋणपत्र खरिदको लागि आज अपराह्न ३ बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन मिति २०७८ असार ९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति भने २०८४ असार ९ गते छ । खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने र बिक्री गरिने कुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको तयारी रहेको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम हुनेछ ।

न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलकबोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलवपछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलकबोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

राष्ट्र बैंकले सरकारको लागि चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ ।

चालू आवको तेस्रो चौमासिक अवधिसम्म अर्थात् यही असार मसान्तसम्म भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनुपर्नेछ । सोहीअनुसार आज मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार आन्तरिक ऋण उठाउनको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरिँदै आएको छ । 

Open Photo

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया