Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजो पाँच वर्षदेखि ‘सय कडा चारको दर’ले आफूले नलिएको ऋणको ब्याज तिर्दै छिन्

जो पाँच वर्षदेखि ‘सय कडा चारको दर’ले आफूले नलिएको ऋणको ब्याज तिर्दै छिन्


काठमाडौँ ।‘जीवन सोचेजस्तो कहिले नहुँदो रहेछ । सायद हुुने भए मलाई पनि रहर थिएन– आधा रातमा उठेर तरकारी किन्न जान । एक्ली आईमाई मान्छे, मध्यरातमै कहिले कालीमाटी, कहिले नरेफाँट त कहिले ठिमीसम्म तरकारी लिन म रहरले भौँतारिएको होइन ।’‘यति धेरै बाध्यताहरु छन् जसले मलाई आधा पेट खा भन्छ, आधा रात मात्र सुत् भन्छ, अनि दिनको १२ घण्टा होइन, १६ घण्टासम्म काम गर् भन्छ । एउटी छोरी छे, सानी छे तर सहयोगी छे । उसकै साथ सहयोग र आड भरोसामा गठाघरको यो सानो कुनामा तरकारी बेच्दै छुु । तर आफ्नो लागि भन्दा अरुको लागि बढी, के गर्ने पापीले मजस्ती कमजोर मान्छेलाई ठगेर गयो । उसले लिएको ऋणको ब्याज सय कडा चारको दरले विगत पाँच वर्षदेखि ब्याज तिर्दै आएकी छुु ।’

यसो भन्दै गर्दा उमेरले झण्डै ५५ कटिसकेकी दिपा लिम्बुुको अनुहारमा पीडा, आक्रोश र रोदन भरिएर आए । जुन उनको अनुहारमा प्रष्टसँग देखिन्थ्यो । कडा काम र अर्काले आफ्नो नाउँमा लिएर ठगेको ऋणको बोझ दिपालाई निकै भारी भएको छ ।‘हजुर त्यो ठग कहाँ भागेको होला, मेरो मात्र होइन, त्यसले धेरैको पैसा खाएको छ, धेरैलाई फसाएको छ, धेरैको आत्मालाई रुवाएको छ, त्यो पापीलाई हाम्रो श्राप लागोस् हजुर !’, उनले निराश हुँुदै भनिन् ।

दिपाको घर धरान हो । परिवारमा उनलाई साथ र सहयोग गर्ने कोही छैनन् ।‘मेरो आफ्नो भन्नु यही छोरी हो यसकै आड भरोसामा यसकै भविष्यको लागि दश नङ्ग्रा खियाएकी छु, मसँगै यो पनि काममा खट्छे, मलाई सहयोग गर्छे’, उनले रोदनमिश्रित स्वरमा पीडा पोखिन्, ‘तर हामीले यति धेरै दुःख गरेर कमाएको पैसा ठग तेज बहादुर भारतीले झुक्याएर आफ्नो नाउँमा लिएर चलाएको कर्जाको लागि ब्याज तिनुुपर्छ ।’
दिपाले त्यो ब्याज विगत पाँच वर्षदेखि तिर्दै आएको बताइन् ।

‘ब्याज तिर्न धौ–धौ छ, सावाँ तिर्ने त कहिले हो कहिले ?’, निराश हुँदै उनले भनिन् ।दिपाका अनुसार उनलाई प्रलोभनमा पारेर ठग्ने सिन्धुपाल्चोक कुन्चोक वडा नम्बर ३ घर भएका तेज बहादुर भारती हुुन् । भारतीले दिपाजस्तै धेरैलाई ठगेर, धेरैको पैसा खाएर भागे । भारतीले अन्नपूर्ण बचत तथा ऋण सहकारी समेतको प्रयोग गरी धेरैलाई ठगेको दिपाको भनाइ छ ।

भारतीले आफ्नो नाउँमा सय कडा चारको दरमा दुुई लाख रुपैयाँ ऋण लिएको र त्यो ऋणको ब्याज विगत पाँच वर्षदेखि तिर्दै आएको बताइन् । ‘यदि त्यो ऋण मैले आफैँले चलाएको भए ब्याज तिर्दा पीडा हुने थिएन, तर पापीले झुक्यायो, फसायो, आफूले नलिएको ऋण, नचलाएको ऋणको ब्याज तिर्दै छु’, दिपाले भनिन् ।आफूलाई परेको पीडाको बारेमा कहाँ गएर उजुरबाजुर गर्ने, कसलाई भन्ने, के गर्ने उनलाई थाहा छैन । ‘म एउटी अबला नारी, पढेकी पनि छैन, सारै परिबन्धमा परेकी छु, अहिले मसँग भएको एउटै विकल्प भनेको तरकारी बेच्ने अनि त्यो पापीले लिएको ऋणको ब्याज तिर्ने त्यति मात्र हो’, उनले भनिन्, ‘भागेर कति दिन लुक्ला र त्यो पापी ! कुुनै दिन टुप्लुक्क भेटिएला नि ! त्यतिखेर त्यसको कठालो समाउँछु, तर त्यो दिन छिट्टै आओस् !’

तेज बहादुर भारतीले गरेको ठगी र उजुरीको विषयमा महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी प्रमुख नरहरी रेग्मी भने भारतीको विषयमा अहिलेसम्म वृत्तमा उजुरी आएको नोटिस आफूलाई थाहै नभएको बताउँछन् । ‘जहाँसम्म ठगी गरेर भागेको भन्ने कुरा छ, बरु कतै लुकेर बसेको छ भने त्यही समाचारको आधारमा आरोपित व्यक्तिले भाग्ने मौका पाउन सक्छ । त्यसकारण पहिला ठगीको विषयमा उजुरी हालेर प्रहरीले खोजतलास गरेपश्चात् त्यो समाचार सम्प्रेषण गर्दा आरोपित व्यक्तिले उम्कने मौका नपाउन सक्थ्यो होला’, प्रहरी प्रमुख रेग्मीले भने । सोही विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत इन्स्पेक्टर सुदर्शन थापा पनि ठगीको आरोप लागेका भारतीको विषयमा त्यस्तो केही उजुरी नआएको बताउँछन् ।

आरोपित व्यक्तिको स्थायी ठेगाना सिन्धपाल्चोकको कुन्चोक भनिए पनि आफू भर्खर कार्यक्षेत्रमा नयाँ आएकाले त्यो ठाउँमा बारेमा त्यति जानकारी नभएको उनले बताए ।‘म बुझ्छु’, सूचना अधिकृत थापाले भने, ‘पीडितहरु भौतिकरुपमा जिल्लामा आउन समस्या हुुन सक्छ तर उहाँहरुले प्रविधिको प्रयोग गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा उजुरी दर्ता गरी त्यसको एक प्रति जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पनि दिएको खण्डमा प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुुने थियो ।’आर्थिक दैनिक


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया