Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्रले सामानसहितको ट्र्याक्टर राजस्वमा बुझाएपछि इटहरी राजस्वमै अस्वभाविक चलखेल बढ्यो

सशस्त्रले सामानसहितको ट्र्याक्टर राजस्वमा बुझाएपछि इटहरी राजस्वमै अस्वभाविक चलखेल बढ्यो


विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको ३४ लाखको कपडा बोकेको ट्र्याक्टरमा भीसीटीएस प्रणालीमा गाडी नम्बर उल्लेख नभएको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएपछि फेरि विराटनगर भन्सार कार्यालय विवादमा तानिएको छ ।

३४ लाखको कपडा बोकेको ट्र्याक्टरसहितको सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले विराटनगर वडा नम्बर १६ पारिजात चोकबाट नियन्त्रणमा लिएको थियो । भीसीटीएस नम्बर उल्लेख नभएपछि प्रहरीले चालक भारत जोगबनीका ३२ वर्षीय पंकज यादव समेतलाई पनि नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएपछि विराटनगर भन्सार विवादमा तानिएको हो । उता विराटनगर भन्सारका भन्सार अधिकृत एवं भन्सार प्रवक्ता सन्तोष यादवले भीटीएस प्रणालीमा ट्र्याक्टर छ वा छैन भन्ने जानकारी राख्ने काम विराटनगर भन्सारको नभएको र उक्त काम राजस्व अनुसन्धानको हो भनी आफ्नो प्रतिक्रिया सार्वजनिक गरेपछि भन्सारभित्र लामो समयदेखि चलेको सेटिङको काम छरपस्ट बन्न पुगेको हो ।

सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्र्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्र्याक्टर चालकसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएसँगै भन्सार कर्मचारी र भन्सार एजेन्टका बीचमा हुने डरलाग्दो सेटिङको रहस्य खुल्न पुगेको हो । भीसीटीएस नम्बर उल्लेख नगरी सामानको आयत गर्न सहजीकरण गर्ने भन्सार एजेन्ट गुलाफ साह हुन् । उनको प्रतिनिधिका रूपमा काम गर्दै आएका आफ्नै छोरा मन्टु साहले भीसीटीएस नम्बर उल्लेख नगरी कपडासहित ट्र्याक्टर भित्र्याएको कुरा थाहा भएको छ । सो कपडा विराटनगरस्थित जया इम्पेक्सले आयत गरेको दाबी प्रहरीस्रोतको छ । यसरी भीसीटीएस नम्बर उल्लेख नगरी लाखौँ सामान आयात गर्दा कम मूल्यांकन र भन्सारका कर्मचारीहरूसँग मिलेर राजस्व छली हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जानकारी दिएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान प्रमुख दीपक खड्काले पनि सशस्त्रले बुझाएको ट्र्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा उल्लेख नभएको कुरा सार्वजनिक गरेपछि अनुसन्धानको सुइ विराटनगर भन्सार कर्मचारीतिर मोडिएको हो ।

भीसीटीएस प्रणालीअन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरूको बिन्दु र अन्तिम बिन्दुसम्मै विभागले ट्र्याकिङ गरिरहेको हुन्छ । राजस्व चुहावटको सम्भावना कम गरेर राजस्व प्रशासनमा सुधार आउँछ भन्ने उद्देश्यले २०७६ साल साउन १ गतेदेखि अनिवार्य रूपमा भीसीटीएस लागू गरिएको थियो । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ । कुन चालकले सामानको साधन चलाइरहेको हो त्यो पनि थाहा हुन्छ । उक्त साधन कहाँ–कहाँ पुग्छ भन्ने सबै थाहा हुन्छ, कसले किनेको कसले बेचेको सम्म जानकारी हुने हुँदा भीसीटीएस प्रणालीअन्तर्गत अनलाइनमा ‘इन्ट्री’ नगरेमा त्यस्ता मालबहाक सवारीसाधनलाई राजस्व अनुसन्धानले कारबाही गर्ने कानुनी व्यवस्था रहेको छ ।

दशैँको मुखमा सशस्त्र प्रहरीले भन्सार सेटिङमा निकासी भएको ट्र्याक्टरसहितको सामान राजस्व अनुसन्धान पु-याएपछि पछिल्लो समय राजस्व अनुसन्धान आफैँ भन्सार एजेन्ट र व्यवसायीका बीचमा सेटिङ गर्ने तयारीमा रहेको दाबी राजस्वस्रोतले गरेको छ । पछिल्लो समय अर्थ मन्त्रालयमा कर्मचारी सरुवाको लहर चलिरहेका कारण राजस्व अनुसन्धान अधिकृत दिपक खडका पनि सरुवाको लिस्टमा परेपछि उनको ध्यान पनि अनुसन्धानभन्दा धेरै सेटिङमा ट्र्याक्टर छोड्ने मनस्थितिमा रहेको कुरा इटहरीस्थित राजस्वस्रोतले आर्थिक दैनिकलाई बताएको छ । करिब एक वर्षअगाडि राजस्व अनुसन्धान इटहरीमा प्रमुखको जिम्मेवारी लिएर सरुवा भई आएका दिपक खड्का पनि बेला–बेला विवादित बन्न पुगेको कुरा थाहा भएको छ ।

महिना पहिले हवनको सामग्री भनी भन्सार जाँचपास भएको सामानसहितको ट्र्याक्टरमा हार्डवेयरका सामान फेला परेपछि पक्राउ गरी राजस्वमा अनुसन्धानमा बुझाएका बेला भन्सार एजेन्ट चेतनाथ पौडेल र भन्सार कर्मचारीलाई बचाउन सामान्य जरिवाना गरी छोडेपछि अनुसन्धान प्रमुख दिपक खडका विवादमा तानिएको कुरा थाहा भएको छ । अहिले फेरि कपडासहितको ट्र्याक्टर सशस्त्रले कारबाहीका लागि पठाएपछि भन्सार जाँचपास गर्ने भन्सार कर्मचारीसहित भन्सार एजेन्ट पनि कारबाही गर्नुपर्ने अवस्था आएका कारण अनुसन्धान अधिकृत दिपक खडकाले सेटिङमा जाने मनस्थिति बनाएको कुरा राजस्वस्रोतले बताएको छ । यसरी पटक–पटक विवादमा पर्ने भन्सार कार्यालय र राजस्व अनुसन्धानकै सेटिङमा पछिल्लो समय डरलाग्दो रूपमा अवैध सामानको आयात मुख्य भन्सार नाका नै प्रयोग गरेर हुने कुरा स्पष्ट भएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया