Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गौतमबुद्धको मूर्ति अनावरण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गौतमबुद्धको मूर्ति अनावरण


काठमाडौं । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गौतमबुद्धको मूर्ति अनावरण गरिएको छ । करिब दुई अर्ब ५० करोड रूपैयाँबराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउन्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हो ।

उक्त बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको थियो । एक हजार आठ सय केजी तौल भएको बुद्धमूर्ति एक दशममलव नौ मिटर उचाइ र ६० सेन्टीमिटर चौडाइको रहेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार एक कार्यक्रमका बीच गौतमबुद्धण् अन्तर्राष्ट्रिय विमानस्थलमा गौतमबुद्धको मूर्ति अनावरण गरेकी हुन् । मूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वाभाविक रूपमा लिएर काम अघि बढाउनुपर्नेमा जोड दिइन् । ‘यहाँ योग र ध्यान जस्ता साधना तथा खोज र अनुसन्धान गर्न सक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तुप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ’, उनले भनिन् । यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उनले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रूपमा विकास गर्न दृढ संकल्प लिनुपर्ने समेत बताइन् ।

लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन् ।

यस्तै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिटो पूर्णता दिन आवश्यक रहेको बताए । उनले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पु¥याउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । साथै उनले बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको भन्दै बुद्धको ज्ञानलाई व्यावहारिक जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताए । नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएको बताउँदै गृहमन्त्री खाँणले यो नेपालको महत्वपूर्ण विशेषता र सम्पदा भएको बताए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गौतमबुद्धले दिएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताए । विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानव जातिलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राखे ।

स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताए । उनले नेपालमार्फत एसियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गरे । यस्तै कार्यक्रममा लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पु-याउने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया