Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगायक अमात्यको नाउँमा रहेको जग्गाको नक्कली पुर्जा बनाएर कर्जा

गायक अमात्यको नाउँमा रहेको जग्गाको नक्कली पुर्जा बनाएर कर्जा

यो कर्जा पुरानो हो, हामीले मिलाइसक्यौं– निमित्त प्रमुख कार्यकारी तिमिल्सिना (कुमारी बैंक)


काठमाडौं । गायक योगेश्वर अमात्यको नाउँमा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर कर्जा प्रवाह गरेको खुुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार मुक्तिनाथ गौतम र एसकुमार महर्जनको संलग्नता कुमारी बैंकबाट गायक अमात्यको नाउँमा नक्कली जग्गाधनी पुर्जा बनाएर कर्जा प्रवाह भएको खुलेको हो ।

बेनियल ट्रेडिङ कम्पनी कोटेश्वका सञ्चालक समेत रहेका गौतम र महर्जनले गायक अमात्य र उनकी श्रीमतीको नाउँमा बारामा रहेको १२ बिघा जग्गा धितो राखेर कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंको न्युरोड शाखा र कुमारी बैंकको पर्सा शाखा समेतको समन्वयमा कुमारी बैंककै न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यसरी आफ्नो नाउँमा दोस्रो व्यक्तिले नक्कली लालपुर्जा बनाएर कर्जा लिएको जानकारी पाएपछि गायक अमात्यले दोषीलाई पक्राउ गरी आफ्नो सम्पत्ति सुरक्षितरुपमा फिर्ता गरिपाऊँ भन्दै दशैँअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा सीआईबीले सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया, नक्कली जग्गाधनी बन्ने एस.के महर्जन, मुक्तिलाल गौतम र उक्त कर्जा प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गर्ने कुसुम प्रधानलाई पक्राउ गरिसकेको सीआईबीले जनाएको छ ।

कुमारी बैंकको उक्त कर्जा प्रकरण अहिले अनुसन्धानकै चरणमा रहेकाले यसमा कसको कसको संलग्नता रहेको छ भन्ने तथ्य खुल्न बाँकी छ । अहिलेसम्म अनुसन्धान गर्दा यो प्रकरणमा कुमारी बैंकको पर्सा शाखामा कार्यरत दुई कर्मचारीको संलग्ता देखिएको र अनुसन्धान चल्दै जाँदा यसमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिन सक्ने प्रवक्ता प्रहरी उपरीक्षक महतोले बताए । यो कर्जाको विषयमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले भने यो कर्जा प्रकरण झण्डै पाँच महिनाअघिको भएको र यो कर्जा अहिले मिलिसकेको बताए ।

यो प्रकरणमा केही व्यक्तिहरु पक्राउ परेको र त्यसमध्ये केही कुमारी बैंकमा नै कार्यरत कर्मचारीहरु समेत रहेको स्वीकार्दै उनले भने, ‘यो कर्जा हामीले मिलाइसकेका छौँ, उक्त कर्जाबराबरको धितो सुरक्षित गरिसकेका छौँ, अब यसमा समस्या छैन ।’ यद्यपि यो कर्जा प्रकरणमा कीर्ते कसुरअन्तर्गत सीआईबीले अनुसन्धान गरिरहेको समेत निमित्त प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया