Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोजगारीसँगै अर्थतन्त्रका अन्य सूचकमा पनि सुधार

रोजगारीसँगै अर्थतन्त्रका अन्य सूचकमा पनि सुधार


काठमाडौ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा आउने क्रमसँगै रोजगारीको अवस्थामा पनि सुधार आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनअनुसार कोभिड १८ सुरु भएपश्चात् र हालको अवस्थामा रोजगारीसँगै अर्थतन्त्रका अन्य सूचकहरुमा पनि सुधार देखिएको हो ।

प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा नेपालमा उद्योग, व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भई कोभिडपूर्वको अवस्था नजिक पुगेको छ । ‘कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव पाँच प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७ दशमलव दुई प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ’, प्रतिवेदनमा भनिएको छ ।

उद्योग, व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग, व्यवसायहरुको औसत तलब—ज्याला खर्चमा समेत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव चार प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६ दशमलव एक प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्यास तथा पानीलगायत क्षेत्रका उद्योग तथा व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग, व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको छ । अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भए पनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग तथा व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सो अनुरुप उद्योग तथा व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

२०७७ असारको तुलनामा उद्योग तथा व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत उद्योग तथा व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा बढेर ८७ दशमलव दुई प्रतिशत पुगेको देखिएको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा चार दशमलव दुई प्रतिशत उद्योग तथा व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा दुई दशमलव तीन प्रतिशत उद्योग तथा व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा उद्योग तथा व्यवसायहरुको उत्पादन तथा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४ दशमलव सात प्रतिशत पुगेको छ ।

२०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन तथा कारोबार बढेको पाइएको तर होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको प्रतिवेदनमा उल्लेख छ । ‘गत असारको तुलनामा उद्योग तथा व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग तथा व्यवसायको उत्पादन तथा कारोबार बढेको तर कोभिड महामारी आउनुअगाडिको अवस्था भने अझै उत्पादन तथा कारोबार पुगिसकेको देखिँदैन’, प्रतिवेदनमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया