Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरेलु कार्यालयको राजस्व संकलनमा ३२ प्रतिशतले गिरावट

घरेलु कार्यालयको राजस्व संकलनमा ३२ प्रतिशतले गिरावट


सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको राजस्व संकलनमा ३२ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३२ दशमलव ८० प्रतिशतले राजस्व संकलनमा कमी आएको हो ।

कार्यालयका सूचना अधिकारी सुनिता राईका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनमा २६ लाख ६८ हजार चार सय रुपैयाँ राजस्व संकलन भएको चालू आर्थिक वर्षको सोही अवधिमा १७ लाख ९३ हजार एक सय ५० रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । गत वर्ष विभिन्न पालिका, कृषि ज्ञान केन्द्रलगायतका कार्यालयहरूले अनुदानको कार्यक्रम लागू गरेका कारण कृषि उद्योग दर्ता संख्या बढेको कार्यालयले जनाएको छ ।

तर चालू आर्थिक वर्षमा त्यस्ता अनुदानका कार्यक्रमहरू न्यून मात्रामा हुँदा उद्योग दर्ताको संख्यामा कमी आएको सूचना अधिकारी राईले बताए । साथै गत वर्ष वित्तीय संस्थाहरूले सहुलियत कर्जाको व्यवस्था गरेकाले पनि उद्योग तथा वाणिज्य दर्ताको संख्या स्वतः बढेको जनाइएको छ । कार्यालयले उद्योग दर्ता, वाणिज्य दर्ता, नवीकरण, उद्देश्य थप, पुँजी वृद्धि, नामसारी, प्रतिलिपिलगायतका सेवाबाट शुल्क लिने गरेको छ ।

जिल्लामा उद्योगको संख्या तीन हजार नाघ्यो
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तीन सय १२ वटा फम घरेलु तथा उद्योग कार्यालयमा दर्ता भएको छ । जसमा उद्योगतर्फ दुई सय ३६ वटा नयाँ दर्ता, एक सय ३ वटा नवीकरण तथा वाणिज्यतर्फ ७६ वटा नयाँ दर्ता र ७८ वटा नवीकरण भएको कार्यालयले जनाएको छ ।

यससँगै जिल्लामा हालसम्म उद्योग दर्ता संख्या तीन हजार दुई सय ७५ र वाणिज्य दर्ता संख्या एक हजार ४९ वटा पुगेको कार्यालय प्रमुख मेघराज बस्नेतले जानकारी दिए । उनले भने, ‘दर्ताको संख्याचहिँ बढेको छ, तर यहाँ दर्ता भएका कतिपय फमहरू निस्क्रिय पनि भएका छन् । कुनै फर्महरू अनुदानका लागि दर्ता गर्छन् भनि अनुदान सकिएपछि निरन्तरता दिँदैनन् ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया