Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीको गाडीमा एमाले सांसद तामाङको रजाइँ

मेलम्चीको गाडीमा एमाले सांसद तामाङको रजाइँ


काठमाडौँ । मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा एमाले सांसद शेर बहादुर तामाङले प्रयोग गरेका छन् । सांसद तामाङले एक वर्षदेखि चढ्ने गरेको बा.१झ ८७६८ नम्बरको हाइलक्स जापानी गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेर अहिले बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन् ।

No description available.

इन्जिन बिग्रिएपछि उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्क्याइएको छ । गाडीको इन्जिन मर्मतको सात लाख ६५ हजार र डेन्ट पेन्टको लागि स्टमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत खर्च मेलम्ची खानेपानी आयोजनाको कार्यालयसमक्ष पेश गरेका छन् ।

‘मेलम्ची खानेपानी आयोजनाले बा.१झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गरे बुझ्नुपर्छ’, पन्तले भने, ‘विगत एक महिनादेखि कारखानामा थन्किएको गाडीको खर्च अनुमान आयोजनासमक्ष आइपुगेको छ ।’

सांसद तामाङले मेलम्ची बाढीअगाडि १० दिनजतिको लागि भन्दै मेलम्ची खानेपानी आयोजनाको गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनीनिकट स्रोतको भनाइ छ ।

तामाङले गाडीमा आफ्नै निजी ड्राइभर राखेका भए पनि तेल र मर्मत खर्च लिन खानेपानी आयोजनामा पुग्ने गरेको स्रोतले बताएको छ । हरेक भाषणमा भ्रष्टाचारविरोधी अभिव्यक्ति दिने सांसदले नै पदको दुरुपयोग गरी राज्यको सम्पत्तिमाथि रजाइँ गरेको यसबाट प्रस्ट देखिन्छ ।

No description available.

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई खानेपानी आयोजनाले दिएको थियो । पछि सो गाडी सांसद तामाङले केही दिनका लागि भन्दै लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेलले बताए ।

तामाङले सत्ताका प्रभावले मेलम्चीका कर्मचारीहरूलाई ‘विवश तुल्याई’ गाडी लगेका हुन् । महंगो सुविधासम्पन्न जापानी हाइलक्स गाडी व्यक्तिगत र पार्टीको काममा प्रयोग गरिरहँदा उनको निजी गाडी घरमा थन्क्याएर राखिएको थियो । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्दै भाषण गर्ने सांसद तामाङको यो चरित्रले उनीमाथि प्रश्न उठेको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया